PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारतबाट फर्केका बाँकेका संक्रमित 'शिक्षक' : लकडाउनले मदरसा बन्द भएपछि घरघरमा ट्युसन पढाउन पुग्थे



कमलराज भट्ट

भारतबाट फर्केका बाँकेका संक्रमित 'शिक्षक' : लकडाउनले मदरसा बन्द भएपछि घरघरमा ट्युसन पढाउन पुग्थे
PHOTO : nepalgunjnews

काठमाडौं : भेरी अस्पतालमा प्रयोगशाला (पीसीआर टेस्ट) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय पुरुष दुई महिनाअघि भारतबाट आएको खुलेको छ।

भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाका अनुसार नेपालगञ्ज रोडमा घर भई यहाँको एकलाइनीस्थित मदरसामा बस्दै आएका ती पुरुषलाई शुक्रवार परीक्षणका क्रममा संक्रमण देखिएको थियो। सुरुमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनको पीसीआर गरिएको थियो।

उनलाई शुक्रवर नै एम्बुलेन्समार्फत् सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा ल्याइ आइसोलेसनमा राखिएको छ। मोवाइलसमेत् नभएका उनलाई मोबाइल उपलब्ध गराएर आइसोलेसनमा राखेर सोधपुछ गर्दा उनी दुई महिनाअघि भारतबाट नेपालगञ्ज फर्केको र मदरसामा पढाउँदै आएको खुलेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार उनी इस्लामिया फैजुलउलम मदरसामा ५ कक्षासम्म पढाउँथे। भारतबाट फर्केर उनले लकडाउन हुँदासम्म पढाइरहेका थिए। लकडाउने मदरसा बन्द भएपछि घरघरमा गएर ट्युसन पढाउँदै आएका थिए।

'बाहिर ट्युसन पढाउने ठाउँको घर ट्रेसिङ गरिसकेका छौं,' एसपी ओलीले भने, 'उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ।'

एसपी ओलीका अनुसार ती पुरुषका परिवारका सदस्यको पनि टेस्ट हुँदैछ।

टोल टोलमा सिल गरेर कन्ट्याक्ट ट्रेसिङ

प्रहरीले नेपालगञ्जमा विभिन्न टोलहरु सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ।

'सिल गरेका ठाउँमा उनको सम्पर्कमा आएका मान्छेको पीसीआर टेस्ट गर्छौं। अहिलेसम्म ६०/७० जना पुगेका छन्। हेर्दैछौं,' बाँके प्रहरी प्रमुख ओलीले भने।

भारतबाट आएपछि कहाँ कहाँ गए, कुन कुन ठाउँमा मानिसहरुसँग भेटे, कुन कुन ठाउँमा ट्युसन पढाउन पुगे भन्ने हेरिरहेको प्रहरीको भनाई छ।

'सम्भावित सबै ठाउँमा सिल गर्‍याछौं। त्यस ठाउँका मान्छेलाई मुभमेन्ट गर्न दिएका छैनौं। पीसीआर टेस्ट गरिरहेका छौं। रिजल्ट के आउँछ अनि मात्रै क्वारेन्टाइनमा राख्ने कि आइसोलेनमा भन्ने तय हुन्छ,' घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरज खत्रीले भने।

खत्रीका अनुसार ती पुरुष भारतको कुन ठाउँबाट आएको भन्ने चाहिँ खुलेको छैन।

'उनी आएको ठाउँ कुन हो भन्ने खुलेको छैन। मिडिया हस्पिटल गएको भन्ने खुलेको छ। यो अस्पताल कुन ठाउँमा छ खोज्दैछौं। गाउँलेको उपचारको लागि गएका रहेछन्। आफू पनि दमका पीडित रहेछन्। दम अलिअलि हो। अरु स्वास्थ्य अवस्था सामान्य छ,' उनले भने।

इन्स्पेक्टर खत्रीका अनुसार नेपालगञ्जको मस्जिद जाने बाटो, पुरुषको घर क्षेत्र, महेन्द्र पार्क पछाडिको टोललाई सिल गरिएको छ। यी क्षेत्रहरु वडा नम्बर ८ र ६ मा पर्छ। नाम र विवरण संकलन तथा कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell