PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आफन्तलाई भारतबाट नेपाल ल्याउनुपर्ने माग गर्दै महिलाहरु उत्रिए प्रदर्शनमा



पहिलोपोस्ट

आफन्तलाई भारतबाट नेपाल ल्याउनुपर्ने माग गर्दै महिलाहरु उत्रिए प्रदर्शनमा

काठमाडौं : कैलाली र कञ्चनपुरमा भारतबाट नेपाल आउन नदिएको भन्दै प्रदर्शन भएको छ। लकडाउनले ३५ दिनदेखि धारचुलामा रोकिएका दुई हजारभन्दा बढी नेपाली नागरिकलाई गत बिहीवार स्वदेश फर्काइएको थियो। भारतसँग जोडिएका दार्चुलाका दुई र बैतडीको एक नाकाबाट उनीहरुलाई नेपाल ल्याइयो। उनीहरुलाई फर्काउँदा भारतसँग जोडिएका सुदूरपश्चिमका कञ्चनपुर र कैलालीका नाकाबाट भने ल्याइएको छैन। यहाँ करिब ५ सय नेपाली रोकिएका छन्। गृहको निर्देशन नभएको भन्दै दुवै जिल्लाका अधिकारी चुपचाप छन्।

एक ठाउँबाट आउन दिने अर्कोबाट नदिने भन्दै कञ्चनपुरमा प्रदर्शन भएको हो। कञ्चनपुरको महाकाली नदी पारीको साविकको दोधारा-चाँदनी अहिलेको महाकाली नगरपालिकामा महिलाहरु जम्मा भएर प्रदर्शन गरेका हुन्। दार्चुला र बैतडीका मान्छे ल्याएको तर गड्डाचौकी नाकाबाट आफ्ना नातेदार आउन नदिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। यहाँका अधिकांश घरका पुरुष रोजगारीका लागि भारतमा छन्।

शुक्रवार दोधारा चाँदनीस्थित महाकाली नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, सशस्त्र प्रहरी प्रमुख, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको बैठक भइरहेका बेला स्थानीय महिलाहरुले नगरपालिका घेराउ गरी आफन्त फर्काइदिन माग गर्दै प्रदर्शन गरेका थिए। आज पनि महिलाहरु नगरपालिका पुगेका छन्।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय महिलाले गेटमै प्रदर्शन गरेर जान नदिएपछि प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा पछाडिको गेटबाट बाहिरिएका थिए।

प्रदर्शनस्थलबाट स्थानीय भरत भट्टले दिएको जानकारीअनुसार सीमामा आएर तथा भारतका विभिन्न ठाउँमा बाटोमा अलपत्र परेका आफन्तलाई नेपाल भित्रन दिनुपर्ने भन्दै महिलाहरुले नगरपालिकामा बैठक बसिरहेका बेला नाराबाजी गरेका थिए।

'हाम्रा आफन्त सीमामा आएर रोकिएका छन्। उताबाट उनीहरुले वडा अध्यक्ष, मेयर, सिडिओले चिठ्ठी लेख्यो भने यताको कलेक्टर, डिएमहरुले छोडिदिन्छ भनेका छन्। हामी स्थानीय प्रशासनलाई आफन्त ल्याइदिन दबाब दिनका लागि प्रदर्शनमा उत्रिएका हौं,' स्थानीय सीता भण्डारीले भनिन्।

उत्तराखण्डको वनवासा टनकपुर नाका खुला नाका हो। सीमामा आएका मानिस दोधारा चाँदनीमा छिर्ने सम्भावना धेरै छ। किनभने यो महाकाली पारीको नेपाल हो। यहाँ त्यस्तो छेकवार गर्ने सीमा छैन। यदि भारतले आउन दियो भने यहाँ समस्या हुनसक्छ।

अहिले यहाँका बासिन्दा आफन्त ल्याउने मागसँगै कोरोना भित्रिने त्रासमा पनि छन्।

'हामी नेपालको क्वारेन्टाइनमा बस्न तयार छौं। हामीलाई इण्डियामा दु:ख छ। सबै विवरण दिन तयार छौं। हामीलाई क्वारेन्टाइन व्यवस्था गरिदिनुस्। २१/२२ वा १४ दिन जति भनिन्छ बस्छौं भनेर हाम्रा आफन्तले सन्देश दिइरहेका छन्। यो कुरा सरकारले नसुनेपछि दबाब दिन नगरपालिका आएका हौं,' धनादेवी धामीले भनिन्।

स्थानीयका अनुसार बैठकबाट सबै हिँडेपछि यस क्षेत्रका सांसद मानबहादुर सुनारले स्थिति सम्हाल्ने प्रयास गरेका थिए। तर, स्थानीयले 'हाम्रो मान्छे बोलाउ, भोट माग्ने बेला आउने, अहिले खान पाएका छैनन केही नबोल्ने?' भन्दै नाराबाजी गरेका थिए।

स्थानीय टेक विकले आफ्ना आफन्त ल्याइदिन नगरपालिकामा ज्ञापनपत्र बुझाएको बताए। उनका अनुसार महिलाहरुको प्रदर्शन छल्दै सिडिओ र एसपी हिँडेका थिए। उनीहरुले महिलालाई कुनै जवाफ दिएनन्।

घटनाबारे महाकाली नगरपालिकाका मेयर वीरबहादुर सुनारले डेलिगेसन आएको सुनाए। 'दोधाराबाट पनि आएका थिए, चाँदनीबाट पनि आए। दुइटै एसपी, सिडिओ पनि आउनुभएको थियो,' सुनारले भने, 'यहाँको समस्या त के भयो भने नेपालबाट नेपालमै आउनजान रोकियो। जस्तो यहाँबाट बैतडी गएर पूजा गर्न गएकालाई आउन दिइएको छैन। हामीले ल्याउनुपर्‍यो।'

उनका अनुसार महिलाहरुले 'हाम्रो व्यवस्था नहुन्जेल तपाईँहरु जान पाउनुहुन्न' भन्ने तर्क गरेका थिए। 'सरकारले गर्ने कुरा हो, हामी प्रयास गर्छौं भन्ने कुरा भयो,' उनले भने।

भारतमा महाकाली नगरपालिकाका मात्रै ८ हजार मानिस छन्। वनवासा र खटिमामा भारतले सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राखेको छ। उनीहरु पनि आउन पाएका छैनन्। 'मरे पनि नेपालमै मर्छु भन्छन् उनीहरु। नेपाल सरकारलाई तपाईँहरुले भनिदिनुपर्‍यो खान पाएका छैनन्, मरे पनि आफ्नै घर मर्छन ल्याइदिनुपर्‍यो भन्छन्,' उनले भने।

यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले भने घेराउबारे जानकारी नभएको बताए। 'कहीँ दुई जनाले ल्याउनुपर्‍यो भनेर हुँदैन। केन्द्र सरकारले जे निर्णय गर्ने हो त्यही हुने हो,' उनले भने, 'हामीले त्यहाँ यहीँ कुरा भन्यौं।'

उनका अनुसार माथिबाट निर्देशन नआइ केही हुन सक्दैन। 'ल्याउनका लागि केन्द्रमा हामीले पहल गरिरहेका छौं,' उनले भने, 'हामीले आफैं हेरेर परिस्थिति बुझेर, क्वारेन्टाइनमा बसेका मान्छे नै भेटेर आएका छौं। उहाँहरुको भनाई नेपाल आउन पाउ भन्ने छ। त्यसलाई पनि हामीले माथि प्रोसेसमा पठाइसकेका छौं। क्वारेन्टाइनमा २५१ जना छन्। अरु होम क्वारेन्टाइनमा पनि होलान।'

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उनीहरुलाई नेपाली ल्याउन पहल गरिरहेको बताए। 'माथि जानकारी गराइसकिएको छ। हामी गृह मन्त्रालयको निर्देशनको पर्खाईमा छौ,' उनले भने, 'दुवैतिर समझदारी हुनुपर्‍यो ल्याउनलाई। अन्तर्राष्ट्रिय सीमाना संघीय सरकार मातहत पर्‍यो। कैलाली जिल्लासँग जोडिएको सीमा भारतको पलिया क्वारेन्टाइनमा १६५ जना पुगिसके।'

उनले दार्चुला र यहाँ परिस्थिति फरक रहेको बताए। 'यहाँ भारतीयहरु पनि छन्। दार्चुलामा थिएनन्,' उनले भने, 'कैलाली कञ्चनपुरदेखि झापासम्म भारतीय पनि छन्। उनीहरुको पनि पठाउने कुरा होला। छलफल भइराख्या होला माथि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell