कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने पाँच महिला बारे संयुक्त राष्ट्रसंघको 'युएन वुमेन'ले जानकारी प्रकाशित गरेको छ। जसमध्य एक नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डाक्टर रुना झा हुन्।
रुना झा नेपालमा कोभिड–१९ परीक्षण टोलीको नेतृत्व गरिरहेकी छिन्। प्रयोगशालामा दैनिक ७० जना सम्मको कोरोना परीक्षण हुने प्रकाशित सामाग्रीमा जनाइएको छ। उक्त अन्तर्वातामा उनले भनेकी छन्,'परीक्षणकै शिलशिलामा ढिलासम्म काममा खटिनु त अब बानी नै परिसकेको छ।'
प्राविधिक साथसाथै आफ्नो टोलीलाई यातायात, खानेकुरा र सुरक्षा व्यवस्थापनमा पनि उत्तिकै खट्छिन् उनी।
फेब्रुअरीको दोस्रो साता चीनको वुहानबाट १७५ नेपाली विद्यार्थी देश फर्काइएको थियो। उद्धार गरेर ल्याइएका विद्यार्थी राखिएको क्वारेन्टाइनमा प्रयोगशालाका टोली पहिलोपटक प्रवेश गरेको थियो। सोही समयदेखि झा लगायत कोभिड-१९ विरुद्धको लडाइमा सक्रिय छन्।
नेपालमा संक्रमितको संख्या बढेसँगै निर्देशक देखि अन्य स्वाथ्यकर्मीको व्यस्तता बढेको छ। तर, काम गर्ने जोस उस्तै। रुना झा सावधानी अपनाउँदै काम भने गरिराख्न सबैलाई सुझाव दिन्छिन्। उनी स्वयं पनि परिवारसँग बस्दिनन्।
शनिवारै डाक्टर झा राजबिराज जाँदै छिन्, कामकै शिलशिलामा। प्रदेश २ को सरकारले राजविराजमा कोभिड-१९ प्रयोगशाला स्थापनाको निर्णय गरेको छ। त्यसैका लागि आवश्यक तयारी कसरी भइरहेको छ? त्यसबारे बुझ्न जान लागेकी हुन्।
काम बीच युएन वुमेनमा प्रकाशित खबरलाई लिएर दैनिक बधाइ पाइरहेको बताइन्। भनिन्,'पहिले लिइएको अन्तर्वाता हो। ७० जनाको परीक्षण हुने बताइएको छ। तर हाल दैनिक ६ सय बढीको परीक्षण हुन्छ। व्यस्तता बढेको छ। ढिला भएपनि धेरैले पढ्नु भएको छ। खुशी लाग्यो।'
युएन वुमेनमा जोर्डनमा नयाँ प्रविधिको प्रयोग गर्दै त्यहाँका महिला र सिरियाली शरणार्थीको जीवन रक्षाको लागि काम गर्ने अमल अल महाईराह र महाडील दबाइबेह, चीनको क्विङहाई प्रान्तको ग्रामिण गाउँ सियारुओयाओको चेकप्वाइन्टमा बसेर स्वास्थ्य सेवा दिने यान शेङ्लियान, काजकस्तानमा हिंसामा परेकाको कुरा सुन्ने र आवश्यक सहयोग पुर्याउने डिना स्माइलोभा र क्यारेबिया सावधानीको संदेश प्रवाहमा सक्रिय र्यान्सिया हेन्री ती उत्कृष्ट महिला अभियान्ताको सूचीमा परेका छन्।