PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कर्णालीमा कोरोना परीक्षण : कीट अभावले थन्किए चीनबाट ल्याइएका पिसिआर मेसिन



पी बी खड्का

कर्णालीमा कोरोना परीक्षण : कीट अभावले थन्किए चीनबाट ल्याइएका पिसिआर मेसिन

सुर्खेत : कर्णाली प्रदेशमा यसअघि संघीय सरकारले पठाएको आरटी पिसिआर मेसिनको क्षमता कम भएकाले प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयबाट र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिनबाट ठूला क्षमताको आरटी पिसिआर मेसिन ल्याए।

प्रदेश सरकारले ल्याएको पिसिआर मेसिन सुर्खेतको पशुअन्वेषण प्रयोगशालामा जडान गरियो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि जडान गरिसकेको छ। कोरोना भाईरस (कोभिड–१९) को परीक्षण तीव्र पार्ने गरी गएको मंगलवार ल्याइएका मेसिन कीट अभावकै कारण जुम्लामा सुरु हुन सकेको छैन भने सुर्खेतमा परीक्षणको काम रोक्नुपर्ने अवस्था आउन थालेको सुर्खेतस्थित प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए।

‘ठुलो क्षमताको पिसिआर मेसिनका लागि आवश्यक थ्रोट स्वाबको नमुना संकलन र प्रोसेसिङका लागि चाहिने सामान अभाव छ,’ उनले भने,‘२०/३० वटा छ। कही कतै भवितव्य परीक्षण नै गर्नुपर्ने अवस्था आउन सक्ने हुदाँ सवैको सल्लाहअनुसार राखिएको छ।’

पिसिआर परीक्षणका लागि चाहिने आवश्यक कीटहरु अभाव भएकै कारण कोरोना भाइरस परीक्षणको काम प्रभावित बनेको छ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पिसिआर मेसिन पनि कीट अभावले नै सुरु हुन नसकेको हो। साविक कर्णाली अञ्चलका पाँच जिल्ला मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पामा भित्रिएका नागरिकको थ्रोट स्वाब संकलन गरी परीक्षण गर्ने भनिए पनि अहिलेसम्म सुर्खेतमै ल्याएर परीक्षण गर्नुपर्ने बाध्यता छ। अहिले पिसिआर परीक्षणको काम सुरु नहुदाँ शंकास्पद व्यक्तिहरुको र्यापिड टेष्ट गर्ने र थप सिम्टम र लक्षण देखिए पिसिआर परीक्षणका लागि सुर्खेत पठाउँदै आएको छ।

पूर्वाधार र दक्ष जनशक्तिमा अब्बल ठानिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले करिब २७ लाख रुपैयाँमा चीनबाट आरटी पिसिआर मेसिन खरिद गरेको थियो। सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा राखिएको पिसिआर मेसिनले दैनिक १२ देखि १५ वटा नमुनामात्रै परीक्षण गर्दै आएको छ। गएको मंगलवार पशुअन्वेषण प्रयोगशालामा जडान गरिएको पिसिआर मेसिनले चार घण्टाको समयमा ९४ देखि ९६ स्याम्पलको एकै पटक प्रोसेसिङ गर्ने छ। परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउनका लागि आवश्यक पर्ने भीटीएम र संकलित स्वाब परषिण गर्ने पीसीआर प्रोसेसिङ किट सकिएपछि अभाव सिर्जना भएको छ।

प्रदेशमा पिसिआर परीक्षणका लागि आवश्यक सामान अभाव भएपछि प्रदेश सरकारले माग गरिसकेको एक साता वितिसक्दा पनि अझै आउन सकेको छैन।

प्रदेश सरकारले निर्णय गरेरै संघीय सरकारसँग दश हजार आरडिटी सहित थप एकएक हजार सेट भीटीएम र प्रोसेसिङ किट माग गरिएको छ। ‘अहिले पीसीआर परीक्षणका लागि आवश्यक सामानको अभाव छ,’ सामाजिक विकासमन्त्री दल रावलले भने,‘सरकारले निर्णय गरेरै यसअघि माग गरेका छौँ। एक दुई दिनमा आउँला।’

पछिल्लो समय कर्णाली प्रदेशमा झण्डै दश हजारको हाराहारीमा भित्रिएको आँकलन छ। भारतसहित तेस्रो मुलुक र नेपालकै संक्रमित जिल्लाबाट समेत आएका छन्। यसरी भित्रिएका सबैको स्वास्थ्य परीक्षण गरिने मन्त्री रावलको भनाई छ।

हालसम्म कर्णाली प्रदेशमा पिसिआर प्रविधिबाट कर्णालीमा नौ सय २६ जनाको परीक्षण गरिएको छ भने, आरडिटी प्रविधिबाट ५ हजार पाँच सय ७१ जनामा आरडिटी परीक्षण गरिएको छ। कर्णालीको दश जिल्लाका विभिन्न स्थानका क्वारेन्टिनमा तीन हजार दुई सय ७५ जना बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell