PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सचिवालय बैठकमा ओलीविरुद्ध प्रचण्ड-नेपाल पक्ष नरमः दुबै अध्यक्षको आत्मालोचना, वैशाख २५ गते स्थायी समिति 



कुञ्जरमणि भट्टराई

सचिवालय बैठकमा ओलीविरुद्ध प्रचण्ड-नेपाल पक्ष नरमः दुबै अध्यक्षको आत्मालोचना, वैशाख २५ गते स्थायी समिति 

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आन्तरिक विवादमा छलफल गर्न वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ। 

यस्तै, सचिवालय बैठक वैशाख २४ गते पुनः बस्नेछ। 

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय गरेको छ। 

यस्तै सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गरेका छन्। पार्टी फुटाउने बाटो नलाग्ने दुई अध्यक्षले सचिवालय सदस्यहरुलाई निर्देशन पनि दिएका छन्। पार्टीलाई एकजुट बनाएर कोरोना महामारीविरुद्ध लड्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ। 

पछिल्लो समयमा नेकपाको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको थियो। प्रचण्ड नेपाल समूहले तत्काल स्थायी समिति बैठक बोलाउने र प्रधानमन्त्रीको विकल्प दिन माग गर्ने रणनीति तयार भए पनि बैठकमा प्रचण्ड नेपाल पक्ष नरम रुपमा प्रस्तुत भएको थियो। 

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए। यस्तै उपाध्यक्ष बामदेव गौतमसँग पनि ओलीले छलफल गरेका थिए। 

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला शुक्रबार चिनियाँ राजदूतले ओली प्रचण्ड र नेपालसँग भेट समेत गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell