PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

लकडाउनका बीच सुर्खेतमा अलपत्र नागरिकलाई हवाई मार्गबाटै पठाइयो हुम्ला



पी बी खड्का

लकडाउनका बीच सुर्खेतमा अलपत्र नागरिकलाई हवाई मार्गबाटै पठाइयो हुम्ला

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन जारी छ। केही दिनअघिबाट लकडाउन उल्लंघन नै गरेर नेता, कार्यकर्ता र आफन्तहरु गन्तव्यस्थलमा पठाउन हानथाप गर्न थालेपछि गृह मन्त्रालयले लकडाउनको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दियो। तर, अझैपनि नातागोता र कार्यकर्तालाई ओसार्ने काम चलिरहेको छ।

शनिवार मात्रै सुर्खेत र नेपालगञ्जमा रहेका हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धारका नाममा पठाइएको छ। प्रदेश सरकारले एयरलाइन्स कम्पनीसँग समन्वय गरेर सर्वसाधारण आफैँले पैसा तिर्ने गरी हवाई मार्गबाट हुम्ला पठाएको हो। शनिवार हुम्लाका नागरिकलाई लिएर सीता, तारा, गोमा र सिम्रिक एयरले उडान गरेका हुन्।

शनिवार सुर्खेतबाट सर्वसाधारणलाई लिएर सीता एयरको विमानले तीन वटा उडान गरेको छ। यसरी हुम्ला पुगेका नागरिकले सुर्खेतबाट प्रतिव्यक्ति दश हजार र नेपालगञ्जबाट साढे दश हजार तिर्नुपर्ने छ।

सुर्खेत र नेपालगञ्जबाट गरी एक सय ३१ जनालाई शनिवार हुम्लाको सिमकोट पुर्‍याइएको हो। नेपालगञ्जका चार सय ९५ जना र सुर्खेतमा चार सय गरी आठ सय ९५ जना नागरिकलाई हुम्ला पुर्‍याइने भएको छ।

तीन दिनसम्म हवाई सेवामार्फत उनीहरुलाई हुम्ला पुर्‍याइने छ। यसरी संक्रमित स्थानबाट उद्धार गरेर हुम्ला पुर्‍याइएपछि कोरोना भाइरस भित्रिने यहाँको जनप्रतिनिधिहरुको गुनासो छ।

‘अलपत्र परेका नागरिकलाई ल्याउनु सकारात्मक पक्ष हो’, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल भन्छन्, ‘यसरी संक्रमित ठाउँबाट ल्याउँदा कोरोना आउने सम्भावना पनि उस्तै छ। यसतर्फ प्रदेश सरकारसहित हामी सबैले सजगता र सर्तकता अपनाउनुपर्छ।’

हवाई मार्गबाट उद्धार गरिएका सबैलाई गाउँपालिकाको पहलमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको उनले बताए।

प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका अनुसार उद्धार गरिएका ज्येष्ठ नागरिक, बिरामी र विद्यार्थीलाई हवार्य भाडामा ५० प्रतिशत अनुदान दिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell