12.jpg)
काठमाडौं : लकडाउनका समयमा शैक्षिक गतिविधिहरु संचालन गर्न गाह्रो भैरहेको अवस्थामा डिजिटल लर्निङका निम्ति आवश्यक नीति तर्जुमा र कम्प्युटरसम्बन्धी पूर्वाधारको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।
कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल सिएफएएनले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर गरेको अनलाइन अन्तरक्रियामा सहभागीहरुले विपदमा मात्र नभई सँधै डिजिटल लर्निङ महत्वपूर्ण भएको बिचार राखे ।
सिएफएएनका महासचिव रमेश रिमालले संयोजन गरेको अन्तरक्रियामा नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले शिक्षाको बिबिध आयामको बारेमा चर्चा गर्दै डिजिटल लर्निंग नै अबको विकल्प भएको र त्यसको सफल कार्यान्वयनको लागि लाग्नुपर्ने बेला भैसकेको बताए।
अनलाइन शिक्षा बन्द नै गर्ने पोखरा महानगरपालिकाको कदम गलत भएको भन्दै थापाले आवश्यक पूर्वाधार विकास गरि इ लर्निङलाई सबैको पँहुचमा पुर्याउन तर्फ लाग्नुपर्ने धारणा राखे।
पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले विपदको यस घडीमा शैक्षिक गतिविधिहरु संचालन गर्न गार्हो हुने भए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरि अघि बढ्नुपर्ने तथा त्यसको कार्यान्वयन तथा पूर्वाधार विकासको लागि कम्प्युटर प्राध्यापकहरु तथा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने बताए।
नेपाल खुल्ला विश्वविध्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले खुल्ला विश्वविध्यालयमा भैरहेको अभ्यासबारे जानकारी दिँदै इ लर्निङको सफल कार्यान्वयनको लागि यो अनुभव प्रस्थान बिन्दु हुने बताए।
डेजी स्कूल पर्सा, चितवनका प्राचार्य प्रेमराज रिमालले नेपालको सामाजिक- आर्थिक अवस्थाको चर्चा गर्दै डिजिल डिभाइडले मानसिक समस्या समेत ल्याउन सक्ने भएकाले विद्यार्थीहरुले कसरी शिक्षा लिने भन्ने सवाल महत्वपूर्ण भएको बताए।
उनले भने-'सरकार तथा विभिन्न संघ सस्थाको राहतको भरमा महामारीको मुकाबिला गरिरहेका परिवारका विद्यार्थीहरु कसरी अनलाइन कक्षामा आउन सक्छन्?' सबै बर्गका विद्यार्थीको पहुँचमा पुग्नेगरी पूर्वाधार विकास गर्न ढिला भैसकेको उनको भनाई थियो।
वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविध्यालयका पूर्व डिन प्रा. डा. मनप्रसाद वाग्लेले तयारी नपुगेको कारणले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काईसौ शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने धारणा राखे।
त्रिभुवन विश्वविध्यालय इन्जिनीयरिंग अध्ययन संस्थानका प्रा. डा. सुबर्ण शाक्यले शिक्षा मात्र नभएर राज्यले प्रदान गर्ने सम्पूर्ण सेवाहरु अनलाइन मार्फत प्रदान गर्ने गरि इ गवर्नेन्सका कुरा सन् २००६ देखि नै उठेपनि त्यसको सफल कार्यान्वयन हुन नसक्दा आज समस्या भएको बताए। उनले अब पनि संवेदनशील भएर पूर्वाधार विकासमा नलाग्ने हो भने भविष्यमा अझ ठूलो समस्या आउन सक्ने तर्फ सचेत गराए।
अन्तरक्रियामा जनस्वास्थ्यबिद एवं युनिभर्सिटी अफ हदर्सफिल्ड, बेलायतका प्रा. डा. पदम सिम्खडाले इ लर्निङबारे बेलायतको अभ्यास सुनाउँदै 'पूर्वाधार छैन, डिजिटल डिभाइड छ' भनेर चुप लागेर बस्न नहुने धारणा राखे। महामारीको समयमा स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिइएको भएपनि आवश्यक पूर्वाधार भएकोले बेलायतमा बिद्यालय / बिश्वविध्यालायामा शैक्षिक गतिबिधी संचालन गर्न सजिलो भएको अनुभव उनले सुनाए।