PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अन्सारी टोल सिल, बाँकेका संक्रमितको ९३ जनासँग 'डाइरेक्ट कन्ट्याक्ट' : ९० जनाको स्वाब संकलन, आजै साँझ रिपोर्ट आउने



कमलराज भट्ट

अन्सारी टोल सिल, बाँकेका संक्रमितको ९३ जनासँग 'डाइरेक्ट कन्ट्याक्ट' : ९० जनाको स्वाब संकलन, आजै साँझ रिपोर्ट आउने

काठमाडौं : शुक्रवार भेरी अस्पतालको प्रयोगशाला पिसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका बाँकेका ६० वर्षीय संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको एकलाइनीस्थित इस्लामिया फैजुल उलम मदरसाका शिक्षकसमेत रहेका उनको सोझै सम्पर्कमा आएका ९३ जनाको पहिचान गरिएको छ। जसमध्ये ९० जनाको शनिवार स्वाब संकलन गरिएको हो। बाँकीको आज गरिँदैछ। संक्रमितको सम्पर्कमा आएका अन्यको पहिचान (कन्ट्याक्ट ट्रेसिङ)को काम पनि जारी छ।

संक्रमितको सम्पर्कमा आएका मध्ये ८३ जनालाई जलनपुरवा र ७ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टान्टानमा राखिएको छ।

'ट्रेसिङबाट ९३ जना कनेक्टेड देखियो, फस्ट फेजमा डाइरेक्ट कन्ट्याक्ट भएको। यसमा केही सेकेण्ड्री सोर्सहरु पनि छन्। संक्रमितले पढाउने विद्यार्थीहरु फस्ट कन्ट्याक्ट हुन्। उनीहरुका अभिभावक सबैलाई सूचीकृत गरेका छौं। उनीहरु सेकेण्ड कन्ट्याक्ट हुन सक्छन्। ९३ जनाको लिस्टिङ गरेका छौं। ९० जनाको हिजो स्वाब संकलन गरिसकेका छौं। बाँकी रहेकाको आज हुन्छ,' फिल्डमा खटिएका प्रहरी निरीक्षक सुरज खत्रीले भने।

संकलन गरिएकामध्ये ५६ जना नरैनापुरका मस्जिद तथा धार्मिक स्थलका छन्।

बाँके प्रहरीले संक्रमित बढी घुलमिल भएको अन्सारी टोललाई सिल गरेको छ। यो नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ८ महेन्द्र पार्कमा पर्छ।

'टोललाई नै सिल गरेर कोही पनि मान्छे बाहिर नआउने गरी क्वारेन्टाइन बनाइएको छ। ट्रेसिङ निरन्तर जारी छ,' प्रहरी निरीक्षक खत्रीले भने।

उनले संक्रमितको रिपोर्ट आजै आउने र रिपोर्टका आधारमा दोस्रो र तेस्रो चरणमा जाने/नजाने निश्चित हुने बताए। 'डाइरेक्ट कन्ट्याक्टको अहिले पनि सोधपुछ जारी छ। फस्ट फेजमा को को सम्पर्कमा थिए हेरिरहेका छौं,' उनले भने, 'जिल्लामा एकैपटक ९० जनाको ट्रेसिङ गर्न गाह्रो नै थियो। साथै स्वाब संकलन पनि गर्‍यौं। हामी डाइरेक्ट कन्ट्याक्टमा आएकाहरुको पर्खाइमा छौं।'

भेरी अस्पतालका मेडिकल सुपेरिडेन्ट डाक्टर प्रकाश थापाले ९० जनाको स्वाबबाट कोरोना भाइरस भए/नभएको परीक्षण भइरहेको बताए।

'आजै सक्ने भनेर स्थास्थ्यकर्मी साथीहरु खटिएका छन्। बेलुकासम्म रिपोर्ट आउँछ कि?,' उनले भने, '९० जनाकै रिपोर्ट नआए पनि ८०/९० प्रतिशत रिपोर्ट आउँछ। भोलि बिहानसम्म सबै आउला।'

उनका अनुसार संक्रमितको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको अवस्था सामान्य छ।

भारतबाट फर्केका थिए संक्रमित, मदरसाका शिक्षक, घरघरमा गएर ट्युसन पढाउँथे

संक्रमितको ट्राभल हिस्ट्री पूर्ण रुपमा खुलिसकेको छैन। प्रारम्भीक रुपमा उनी आफन्तको उपचारका लागि दुई महिनाअघि भारतको निविया अस्पताल गएको खुलेको प्रहरीले जनाएको छ। तर, निविया अस्पताल भारतको कुन शहरमा छ भन्ने खुलेको छैन।

उनी भारतबाट फर्केपछि कुन कुन ठाउँ गए भन्ने पनि पूर्ण रुपमा आइसकेको छैन।

'अब हामी परिवारसँग कन्ट्याक्ट ट्रेसिङमा जान्छौं। त्यहाँबाट जानकारी प्राप्त होला,' प्रहरी निरीक्षक खत्रीले भने। उनका अनुसार परिवारका सदस्यलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार संक्रमित व्यक्ति इस्लामिया फैजुलउलम मदरसाका शिक्षक हुन्। उनी त्यहाँ ५ कक्षासम्म पढाउँथे। भारतबाट फर्केर उनले लकडाउन हुँदासम्म पढाइरहेका थिए। लकडाउने मदरसा बन्द भएपछि घरघरमा गएर ट्युसन पढाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell