
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शनिबारको सचिवालय बैठकको निर्णयलाई कसैले जित र हारका रूपमा बुझ्न नहुने तर्क गरेका छन्।
पोखरलले आइतबार समाजिक सञ्जाल फेसबुकमा सचिवालय बैठकमा समग्र पार्टीको जीत र गलत प्रवृतिको हार भएको बताएका छन्।
उनले लेखेका छन् 'हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन, यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो। सबैलाई बधाई। यात्रा जारी छ।'
पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बसेको शनिवारको सचिवालय बैठकले किचलो केही हदसम्म मत्थर पारेको छ। बैठकले सदस्यहरुको माग अनुसार स्थायी समिति तय गरेको हो। वैशाख २५ गते बिहान ११ बजेका लागि स्थायी समिति बोलाइएको छ।
सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आत्मालोचना गरेका थिए। बैठकपछि नेताहरुले अब पार्टी र सरकार विधिवत् रुपमा चल्ने बताउँछन्।
प्रधानमन्त्रीको राजीनामा मागेका शीर्ष नेताहरु तत्कालका लागि राजीनामा टरेको प्रतिक्रिया दिन थालेका छन्।