PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते तीन महिनाकी सुत्केरीलाई काठमाडौं पठाइयो, महिलाका भाइको मृत्यु



रासस

सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते तीन महिनाकी सुत्केरीलाई काठमाडौं पठाइयो, महिलाका भाइको मृत्यु
फाइल तस्बिर

राँझा : नेपाली सेनाको गाडीको ठक्करबाट शनिवार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महिनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए।

उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो। शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उहाँ घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

बाँकेमा पाँचको निधन

बाँकेमा बन्दाबन्दीमा भएका सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। कोरोना भाइरसको सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएसँगै अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन्। अत्यावश्यक कामका लागि सञ्चालित सवारीसाधन दुर्घटना परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कानुसार मृत्यु हुनेमा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र अन्य दुई सर्वसाधारण छन्। चैतमा भएका छ दुर्घटनामा दुई जना तथा वैशाख २० गतेसम्म भएका नौ दुर्घटनामा तीन जनाको ज्यान गएको छ। कोहलपुर क्षेत्रमा भएका दुई दुर्घटनामा मात्रै तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पबिन्द्र बमले जानकारी दिए। उनका अनुसार बढीजसो दुर्घटना तीव्र गति र चालकको लापरवाहीले हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell