PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा थपिए एक जना संक्रमित जो वडा अध्यक्षसँगै राहत बाँड्न हिँडेका थिए



राधेश्याम पटेल

वीरगंजमा थपिए एक जना संक्रमित जो वडा अध्यक्षसँगै राहत बाँड्न हिँडेका थिए

वीरगंज : वीरगंजमा थप एक जना युवकमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।

वीरगंज–३ छपकैयाकै ३६ वर्षीय युवकमा कोरोना संक्रमिण देखिएको नारायणी उप क्षेत्रीय अस्पताल स्रोतले जनाएको छ। उनमा कोभिड १९ पोजिटिभ देखिएसँगै प्रशासनले अस्पताल ल्याइ आइसोलेशन वार्डमा ल्याएर राखेको छ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजमा भेटिएका नयाँ संक्रमितलाई अस्पताल पुर्‍याएर उसको घर निगरानीमा राखिएको बताइन्। यससँगै नेपालमा ६० जनामा कोरोनाको संक्रमण देखिएको छ। 

यसअघि वीरगंज ३ छपकैयाका ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। संक्रमित ३ जना भारतीयसँग सम्पर्कमा आएका थिए।

वडा ३ मा नयाँ संक्रमित देखिएसँगै छपकैयामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा समितिको निर्णयबाट सो वडा पुनः सिल गर्ने तयारी भइरहेको समेत पन्तले बताइन्।

कोरोना संक्रमित युवक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि हुन्।  नेकपा पार्टीका वडा स्तरीय राहत वितरण सर्वदलिय समितिका प्रतिनिधि रहेका उनी तीन दिन विभिन्न स्थान पुगेर घरघरमा राहत बाँडेका थिए। सो क्रममा केही स्थानमा वडा ३ का अध्यक्ष वैजु स्वर्णकार पनि साथमा थिए।

गत शुक्रवार नारायणी अस्पतालमा वडा अध्यक्षसहित ती युवकको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। त्यसैको रिपोर्टको नतिजा आइतवार दिउँसो १२ बजे आएको हो। वडा नं ३ का वडा अध्यक्ष स्वर्णकारको रिपोर्ट भने नेगेटिभ आएको छ।  

युवकको रिपोर्ट पोजेटिभ आएपछि अहिले वीरगंजको वडा नं ३ मा पुनः त्रास बढेको छ।

हाल वीरगंजमा १० जनालाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ। जसमा सर्लाहीका १, रौतहटका ३, बाराका २ र पर्साका ४ गरी कुल १० जना छन्। हिजो राति रौतहटबाट एक युवकलाई फेरि नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको छ। उनी संक्रमणमुक्त रहेको भन्दै अस्पतालले उनलाई फिर्ता पठाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell