PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रदेश १ पछि प्रदेश ५ बन्दै कोरोनाको नयाँ 'हट स्पट'



सहयोग रञ्जित

प्रदेश १ पछि प्रदेश ५ बन्दै कोरोनाको नयाँ 'हट स्पट'

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भन्दै लागू गरिएको एक महिना बित्दासम्म प्रदेश ५ संक्रमण मुक्त थियो।  वैशाख १९ गते प्रदेश ५ को बाँके र रुपन्देहीका एकएक जनामा कोभिड १९ पोजिटिभ देखियो। त्यसबेलासम्म संक्रमणमुक्त भएका कारण प्रदेश ५ ले विद्यार्थी भर्ना गर्नसमेत सुरु गर्ने तयारी गरेको थियो।

अहिले प्रदेश ५ को बाँके कोरोना भाइरसको 'नयाँ हटस्पट' बनेको छ। आइतवार बाँकेमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै प्रदेश ५ मा संक्रमण फैलिन सक्ने चुनौती देखिएको छ। यससँगै प्रदेश ५ मा ११ जनामा कोरोना संक्रमण देखिएको छ।

गत शुक्रवार भेरी अस्पतालमा प्रयोगशाला परीक्षण (पीसीआर) मा नेपालगञ्जको मदरसा पढाउने ६० वर्षीय शिक्षकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो। प्रहरीले उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा ९३ जना संक्रमितको सम्पर्कमा आएको फेला पारेको थियो। तीमध्ये ९० जनाको स्वाब परीक्षण गरी पीसीआरबाट परीक्षणका लागि पठाइएको थियो।

आज ३० जनाको परीक्षणको रिपोर्ट आउँदा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालगञ्जका ५ पुरुष र ४ महिलामा पोजेटिभ देखिएको हो।

आज साँझसम्म थप ६० जनाको रिपोर्ट आउने बताइएको छ।

यस्तै, आजै प्रदेश २ को पर्सामा थप एक जनामा भाइरसको संक्रमण देखिएको छ। वीरगंज–३ छपकैयाकै ३६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो। संक्रमित व्यक्ति तीन दिनसम्म राहत बाँड्दै हिँडेका थिए। हाल उनको कन्ट्याक् ट्रेसिङ सुरु गरिएको छ।  यससँगै प्रदेश २ का पर्सामा ७ जना, बारामा २ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जना गरी १३ जना संक्रमित छन्।

सबैभन्दा पहिले वाग्मती प्रदेशमा कोरोना संक्रमण देखिएको थियो भने त्यसपछि क्रमश: गण्डकी प्रदेश, सुदूर पश्चिम प्रदेश, २ नम्बर प्रदेश र १ नम्बर प्रदेश र ५ नम्बर प्रदेशमा संक्रमण देखिएको हो। हाल भाइरसको हटस्पट बन्दै गरेको प्रदेशहरुमा पछिल्लो केही हप्तामा मात्रै संक्रमण देखिएको हो।

अहिले ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेशमात्रै संक्रमण मुक्त रहेको छ।

सबैभन्दा धेरै संक्रमण प्रदेश नम्बर १ मा देखिएको छ। प्रदेश १ को उदयपुरमा २८ जना, भोजपुरमा १ जना र झापामा २ जना गरी ३१ जना संक्रमित रहेका छन्।

प्रदेश ३ को काठमाडौंमा ५ र चितवनमा २ गरी ७ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा सबैजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

गण्डकी प्रदेशमा २ जना संक्रमित देखिएका हुन्। उनीहरु दुबै वाग्लुङका हुन् जो उपचारबाट ठीक भएर फर्किसकेका छन्।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ४ जना संक्रमित गरी ५ जनामा संक्रमण देखिएको छ।

कूल ६९ जना संक्रमित हुँदा १६ जना ठीक भएर घर फर्किसकेका छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell