हेटौँडा : वाग्मती प्रदेशको प्रदेश सभा सञ्चालन गर्ने तयारी भएको छ। सोही क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले आइतवार प्रदेश सभा भवनको निरीक्षण समेत गरेका छन्। पौडेलले सुरक्षित तवरले बैठक सञ्चालन गर्न उपयुक्तताको जानकारी लिन प्रदेश सभा भवनको अवलोकन गरेका मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच बैठक सञ्चालनसम्बन्धी छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार छलफलमा भौतिक दुरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो।
निरीक्षणपछि मुख्यमन्त्री पौडेलले बजेट ल्याउने समय भएकाले प्रदेशसभा आह्वान गर्न जरुरी रहेको बताए। उनले चाँडै बैठक बोलाउने तयारीस्वरुप भवनको निरीक्षण गरिएको जानकारी दिए।
सो अवसरमा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोना भाइरसको माहामारीको ख्याल गर्दै बैठक सुरक्षित र व्यवस्थित हुने बताए। प्रदेश सभा सदस्यहरुमा संक्रमणको जोखिम कम गर्न आउजाउको समस्या कम गर्नका लागि सदस्यहरुलाई राजधानी हेटौँडामा सुरक्षित बासस्थानको व्यवस्था गरिने जानकारी दिए। सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेशसभा बोलाउने तयारी भइरहेको बताए।
मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियालगायतले प्रदेश सभा भवनको अवलोकन तथा निरीक्षणमा गरेका हुन्।