PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

आन्तरिक किचलो व्यवस्थापन गर्न नेकपामा ओली-प्रचण्डबीच नयाँ समझदारी, माधव नेपाल सशंकित



कुञ्जरमणि भट्टराई

आन्तरिक किचलो व्यवस्थापन गर्न नेकपामा ओली-प्रचण्डबीच नयाँ समझदारी, माधव नेपाल सशंकित

करिब दुई सातादेखिको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बवण्डर केही मत्थर भएको छ। पार्टी विभाजन र प्रधानमन्त्री हेरफेरसम्मको विवाद तत्काललाई विषयान्तर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनको शीतयुद्धमा शनिबारको सचिवालय बैठकमार्फत तत्काल युद्धविराम भएको छ। तर, गुटका दौडधुप र आन्तरिक खिचातानी साम्य भइसकेका छैनन्। दुई अध्यक्षबीचको सहतमा देखिएको मनमुटाव तत्काल टालिए पनि रसायन भएको छैन।ओली र प्रचण्ड एकाएक एकै कित्तामा उभिँदा वरिष्ठ नेता नेपालको संशय बढेको छ। नेपालले आफू निकटको गुट भेलालाई यथावत नै राखेका छन्।

सचिवालय बैठकबाट एकाएक विवादको हल भएको हैन। सचिवालय बैठकअघि भएका अनौपचारिक राजनीतिक परामर्श र रणनीतिक व्यवस्थापनले तत्काललाई विवाद विषयान्तर भएको हो। कतिपयले आन्तरिक विवादको बाह्य रुपमा व्यवस्थापन भएको पनि टिप्पणी गरिरहेका छन्।

बुधबारदेखि शनिबारसम्म

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीले विभिन्न कार्ड पाटीभित्र फालिरहे। सुरुमा ओलीले वरिष्ठ नेता नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गरे। यस्तै ओलीले पार्टी महाधिवेशनलाई मंसिरभित्र गरिसक्ने प्रस्ताव पनि अघि सारे। आन्तरिक समीकरण मिलाउन ओलीले केही मुख्यमन्त्री हेरफेरको पनि प्रस्ताव गरे।

प्रस्ताव अनुसार ओलीले आफू निकटका मुख्यमन्त्रीसँग परामर्श गरे। शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङसँग यसबीचमा ओलीले परामर्श पनि गरे।   

पार्टीमा आन्तरिक रुपमा अल्पमतमा पर्दै गएपछि गत बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड फ्याँकेका थिए। ओलीले बामदेवलाई राष्ट्रियसभामा मनोनीत गरेर वा प्रतिनिधिसभामा कुनै स्थान रिक्त गरेर निर्वाचित गराई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे। प्रचण्ड नेपाल पक्ष आश्वस्त नभए पनि बामदेवले प्रधानमन्त्रीको प्रस्तावपछि कानुनी परामर्श नै गरे।

ओलीको कार्डपछि प्रचण्ड नेपाल समूहले नयाँ रणनीति बनाएको थियो। त्यसबीचमा नेपाल पक्षीय स्थायी समिति सदस्यहरुको सक्रियतामा प्रचण्ड र नेपालसँग लामो परामर्श भएको थियो।

प्रचण्ड नेपाल समूहले ओलीमाथि मुख्य तीन विषयमा दबाब दिने रणनीति अख्तियार गरेको थियो।

प्रधानमन्त्रीको प्रस्ताव अनुसार सचिवालय बैठकबाट बामदेवका नाममा लिखित सहमति माग्ने। शनिबारको सचिवालय बैठकबाट स्थायी समिति बैठक तोक्ने। र प्रधानमन्त्रीको राजीनामाका लागि दबाब दिने।

तर, शनिबार सचिवालय बैठकसम्म आइपुग्दा सिन एकाएक परिवर्तन आयो। स्थायी समिति बैठक तोकिए पनि प्रचण्ड नेपाल पक्ष ओली समूहविरुद्ध आक्रामक हुन सकेन। नरम नीति नै लिएर पार्टीलाई एकढिक्का बनाउने सहमति साथ उठे।

शनिबारको रणनीति

जसरी प्रचण्ड नेपाल पक्ष ओलीविरुद्ध योजना बनाइरहेको थियो, ओली समूह पनि विभिन्न रणनीतिमा नै थियो। शनिबार प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे। यस्तै आफू निकट रहेका महासचिव विष्णु पौडेलमार्फत पनि गौतमलाई मनाउने सुत्र अपनाए। भने, शनिबार नै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। जतिबेलासम्म सचिवालयमा अल्पमतमा रहेका दाबी गरिरहेका ओलीले आफूसँग बहुमत सिद्ध गरिसकेका थिए। ईश्वर पोखरेल, बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापाले आफूलाई सचिवालयमा साथ दिने कुरामा ओली विश्वस्त भएका थिए। जुन बहुमत ओलीसँग हुँदा उनीविरुद्ध सचिवालयले निर्णय गर्न सक्ने अवस्था बन्ने थिएन।

बुधबारको बैठकमा समेत गृहमन्त्री समेत रहेका थापाले पार्टीमा गुटबन्दीभन्दा मिलेर अघि बढ्नुपर्ने दबाब सचिवालय बैठकमा शीर्ष नेतालाई दिएका थिए। विवादका बीचमा थापाले प्रचण्डको समूहलाई साथ दिने दाबी गरिए पनि अन्तिममा त्यसो भएन।

आन्तरिक विवाद मिलाउन रणनीतिक कदम चालिरहेका ओलीले पनि सचिवालय बैठकअघि अध्यक्ष प्रचण्डसँग भेट गरे। जुन भेट तत्काल गुटगत युद्ध अन्त्यका लागि पर्याप्त बन्यो।

स्रोतका अनुसार प्रचण्ड र ओलीबीचको भेटमा यसअघि भएको कार्यविभाजनलाई पालना गर्ने सहमति भएको छ। उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी समितिबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ।

गत मंसिरमा पार्टीभित्रको विवाद बढ्दै गएपछि दुई अध्यक्षको कामकाज बाँडफाँड भएको थियो। अध्यक्ष भए पनि कुनै भूमिका नपाएको प्रचण्डको गुनासो उक्त समझदारीले अन्त्य गरेको थियो। एक व्यक्ति एक पदको एजेण्डालाई नेता नेपालले पनि उठाउँदै आएका छन्।

समझदारी अनुसार ओली पूर्ण कार्यकाल प्रधानमन्त्री रहने र पार्टीको कामको पूर्ण जिम्मेवारी प्रचण्डले लिने उल्लेख थियो। यस्तै, पार्टीमा प्रधानमन्त्री र प्रचण्डको समान मर्यादाक्रम रहने, आम रुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने, दुबैले अध्यक्षता गर्नु परेमा समान हैसियतमा रहने विषय समेटिएका थिए।

शनिबार ओली र प्रचण्डबीच पुनः उक्त सम्झौतालाई परिपालना गर्ने समझदारी बनेको स्रोत बताउँछ।

दुई अध्यक्षको वार्तापछि सचिवालय बैठकमा दुबैले विगतका गतिविधिमा आत्मालोचना समेत गरे। साथै पार्टी फुटाउने कुनै पनि गतिविधिमा नलाग्न सचिवालय सदस्यहरुलाई निर्देशन पनि दिए।

नेपाल सशंकित

ओली र प्रचण्डबीचको सझदारीपछि वरिष्ठ नेता माधव नेपाल पक्ष भने सशंकित भएको छ। उक्त पक्षले आइतबार आफू निकटका स्थायी समितिको भेला नै गरेको छ। भेलामा अध्यक्ष प्रचण्डले विगतमा गरेका वाचा कार्यान्वयन हुने वा नहुने विषयमा समेत स्पष्ट हुने स्थायी समिति सदस्यहरुको तयारी छ।

सशंकित नेपालले तत्कालका लागि विवादलाई स्थायी समितिको कोर्टमा छाडेको अवस्थामा बाहेक विषयान्तर भएको नेकपाभित्रको किचलो तत्काल सामान्य हुने अवस्था भने देखिन्न। नेपाल निकट नेताहरुले स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा माग हुने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell