.jpg)
काठमाडौँः शनिबार सत्तारुढ नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एकीकृत बनाउने गतिविधिमा लाग्न सचिवालय सदस्यहरुलाई निर्देशन दिए। फुटसम्मको चर्चा भएको नेकपामा दुई अध्यक्षले त्यस्ता कुनै पनि गतिविधिमा क्रियाशील नहुन पनि निर्देशन दिए।
तर, सचिवालय बैठक सकिएको भोलिपल्टै आइतबारदेखि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष गुट भेलामा सक्रिय भए।
सचिवालय बैठकमा एकाएक यू–टर्न भएका अध्यक्ष प्रचण्डलाई लिएर नेपाल सशंकित भइरहेका बेला प्रचण्ड र नेपालबीच कुरा भएको हो। प्रचण्ड भेट्न नेपाल आइतबार खुमलटार पुगेका हुन्।
भेटमा प्रचण्डले सचिवालय बैठकमा आफू अल्पमतमा परेकाले रणनीति अनुसारका कुनै विषय अघि बढाउन नसकेको स्पष्ट पारे। दाहालले कतिपय विषयमा प्रधानमन्त्री ओलीसँग सम्झौता गरेर अघि बढ्नु वाध्यता भएको पनि भेटमा बताएको निकट स्रोतको दाबी छ।
प्रचण्डसँगको भेटपछि नेता नेपालले आफू निकटका केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुसँग भेट गरेका छन्। छलफलमा सचिवालय बैठकको समीक्षा भएको छ। यस्तै स्थायी समिति बैठकका कसरी प्रस्तुत हुने भन्ने छलफल भएको छ।
नेपाल निकट स्थायी समिति सदस्य युवराज ज्ञवालीले स्थायी समितिमा सरकारको समीक्षा हुने बताए। ज्ञवालीले भने, ‘स्थायी कमिटीमा सरकारको समीक्षा हुन्छ। सरकारभित्र विवादै विवाद र काण्डै काण्ड भयो। पार्टी एकीकरणको काम पनि अझै पूरा भएन। जे जे छलफल हुने स्थायी समितिमै हुन्छ।’
सरकारको समीक्षा हुने हुँदा प्रधानमन्त्रीको राजीनामाको विषय पनि त्यसैमा समेटिने ज्ञवालीको भनाई छ। तर, राजीनामा माग्ने वा नमाग्ने विषयमा अझै स्पष्टता भएको देखिन्न।
सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तुति फेरिनु कतिपय विषयमा प्रधानमन्त्री ओलीसँग सम्झौता भएको हुनसक्ने ज्ञवालीको आँकलन छ।