
काठमाडौं : इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरीदमा घटेको दर प्राप्त गरे पनि नेपाली उपभोक्ताले यसको लाभ अहिलेलाई नपाउने भएका छन्।
अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम आइओसीले नेपाललाई शुक्रबार (मे १ मा) पेट्रोलियम पदार्थको घटेको नयाँ दर पठाएको छ। निगमले नेपाली बजारमा भने यसपटक पेट्रोलियम पदार्थको बिक्री मूल्य नघटाउने बताएको छ। आइओसीले निगमलाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ घटेको खरीद मूल्य पठाएको हो।
अहिले अन्तर्रााष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेकाले भारतले पनि नेपाललाई प्रशोधित पेट्रालियम पदार्थ मूल्य घटाएर दिएको छ। भारतले इराक र साउदी अरेबियाबाट खरिद गर्ने कच्चा तेल ‘ब्रेन्ट क्रुड’ यतिबेला अन्तर्रााष्ट्रिय बजारमा २५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जुन यो वर्ष (सन् २०२०) को शुरुआतमा ६० डलरको हाराहारीमा थियो।
आयल निगमले २०७१ असोज दोस्रो सातादेखि नेपालमा पनि अन्तर्रााष्ट्रिय मूल्यअनुसार समायोजन हुनेगरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो। जसअनुसार अन्तर्रााष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन बमोजिम नेपालमा पनि सो समायोजन हुनुपर्ने हो। तर यसविपरित भारतले आयल निगमलाई घटेको खरीद मूल्य पठाउँदा पनि यसको लाभ उपभोक्ताले नपाउने भएका छन्।
पेट्रोलियम पदार्थको बजार माग घटेकाले बिक्री मूल्य नघटाउने निगमको दलिल पेश गरेको थियो। 'अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरीद मूल्य केही घटेर आएको तथा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार बिक्री मूल्य समयोजन गर्नुपर्ने भए तापनि वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेको कारणले हाललाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको विक्री मूल्य यथावत नै राखिएको’ निगमले शुक्रबार बेलुका जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
किन घटाएन मूल्य ?
न्यून खपत रहेकाले मूल्य नघटाएको बताएपनि यसको उदेश्य भने अर्कै रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बतायो।
अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्य तत्कालै उपभोक्तालाई नसार्ने र त्यो पैसा राज्यको ढुकुटीमा दिने गरी मन्त्रालयले तयारी गरेको स्रोतले बतायो। कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण राज्यको आम्दानी खुम्चिएको छ भने दायित्व बढ्दै गएको छ। यही कठिन परिस्थितीलाई हेरेर आपूर्ति मन्त्रालयले निगमको नाफालाई कुनै क्षेत्रको पुर्नउत्थानका लागि उपयोग गर्न दिने गरी प्रारम्भिक छलफल भएको छ।
स्रोतका अनुसार उच्च तहबाट ग्यासको मूल्य केही समायोजन गर्नका लागि आपूर्ति मन्त्रालयलाई आग्रह गरेको थियो। तर अहिले ग्यासको मूल्य घट्दा उपभोक्ताले कुनै राहत नपाउने देखिएपछि कार्यान्वयनमा नआएको हो। 'लकडाउनका बेलामा धेरै ग्यास डिलरसँग छ। मूल्य घट्दा पनि डिलरले घटाएर उपभोक्तालाई दिँदैनन्' मन्त्रालयका एक अधिकारीले भने, 'यो बेलामा मूल्य घटाउँदा कुनै अर्थ नहुने भएकाले तत्काललाई निगमबाट हुने नाफालाई सरकारले दिनुपर्ने राहतमा उपयोग गर्न दिँदा राम्रो छ।'
ती अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि दक्षिण एसियाकै धेरै मुलुकले पेट्रोलियम पदार्थको मूल्य घटाएका छैनन्। 'भारतले पनि लककडाउनको अवधिमा पेट्रोल र डिजलको मूल्य घटाएको छैन। भर्खरै मात्रै ग्यासको भाउ घटाएको हो,' उनले भने, 'त्यसैले अहिले मूल्य घटाउनु भन्दा राज्यलाई आवश्यक स्रोत जुटाउनु उपयुक्त हुन्छ।' ती अधिकारीका अनुसार निगमलाई तीन/चार प्रतिशत नाफा दिएर अरु राज्यले लिन सकिन्छ।
मे महिनामा आइओसीले पठाएको नयाँ मूल्यका आधारमा खाना पकाउने ग्यासमा सिलिण्डरमै १ सय ९० रुपैयाँ, पेट्रोल र डिजलमा लिटरमै २२ रुपैयाँ नाफा छ। निगमलाई ग्यासमा मात्रै महिनामा ४० करोड रुपैयाँ भन्दा बढी नाफा हुन्छ। अहिले पेट्रोल र डिजलको खपत कम भएकाले निगमको नाफा कम छ। तर लकडाउन खुलेपछि निगमको नाफा धेरै हुन्छ।