PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एकै दिन १५ जनामा कोरोना देखिनुको कारण को? मदरसाका शिक्षक या विद्यार्थी?



कमलराज भट्ट

एकै दिन १५ जनामा कोरोना देखिनुको कारण को? मदरसाका शिक्षक या विद्यार्थी?

काठमाडौं: बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले संक्रमणको मूल व्यक्ति (जरो) खोज्नतर्फ आफ्नो अनुसन्धान केन्द्रित गरेको छ।

भेरी अस्पतालमा आइतबार प्रयोगशाला (पीसीआर) परीक्षणका क्रममा सुरुमा ७ वर्षीया बालिकासहित ९ जना र पछि ६ जना गरी १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। जोलनपुरवा क्वारेन्टाइनमा रहेका संक्रमित सबैलाई राति ९ बजे खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा पुर्‍याइएको छ। उनीहरु सबै वडा नम्बर ८ का बासिन्दा हुन्। जसमा अन्सारी टोलका धेरै छन्।

आज संक्रमण देखिएका सबै जना शुक्रबार भेरी अस्पतालमा कोरोना पोजेटिभ देखिएका मदरसामा पढाउने ६० वर्षीय शिक्षकको सम्पर्कमा आएका व्यक्ति हुन्। प्रहरीले कन्ट्याक्ट ट्रेसिङमा १०५ जना शिक्षकको सम्पर्कमा आएको पत्ता लगाएको छ। तीमध्ये शनिबार ९० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भेरीको प्रयोगशालामा लगिएको थियो।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाका अनुसार जसमा ६० जनाको परीक्षण सकिँदा १५ जनामा संक्रमण पुष्टि भएको छ। ३० जनाको रिपोर्ट आउन बाँकी छ। आज १५ जनाको स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट पनि भोलि नै आउनेछ। अर्थात् भोलि ४५ जनाको परीक्षण रिपोर्ट आउँदा संक्रमित अझै बढ्न सक्छन्।

लकडाउन हुनुभन्दा केही दिन अगाडि आफन्तको उपचारका लागि भारत गएर फर्केका मदरसाका शिक्षकसँग सम्पर्कमा आएकाहरुमा पनि धमाधम कोरोना देखिएपछि प्रहरी जरो (संक्रमण फैलाउने मूल व्यक्ति) खोज्न सक्रिय भएको हो।

जिल्लाकै पहिलो संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकामा कोरोना पुष्टि हुँदा प्रहरीको ध्यान शिक्षकले विद्यार्थीमा सार्‍यो वा अन्यबाट शिक्षकमा सरेर समुदायमा पुग्यो भन्ने खोज्नतिर छ। किनकि ती शिक्षक लकडाउनले मदरसा बन्द भएपछि घरघरमा गएर पढाउथे। यहाँनेर कि त उनी भारतबाट कोरोना लिएर आए र पढाउन जाँदा विद्यार्थीमा सारे, विद्यार्थीले आफ्नो परिवारलाई भन्ने लजिक आउँछ, अर्कोतिर पढाउन जाँदा शिक्षकमा विद्यार्थीबाट सर्‍यो र शिक्षकले अर्को विद्यार्थीमा सारे। तेस्रो लजिक के छ भने धार्मिक शिक्षक भएकाले उनले दिल्लीस्थित जमातीको धार्मिक सभामा सहभागी भएर आएका कुनै धार्मिक नेता भेटे। जसबाट यो सर्‍यो। तेस्रो लजिकमा मानिसहरुले अनुमान लगाएका छन्। किनकि उनी भारतबाट फर्केको २ महिना भइसक्यो। कोरोना भने अहिले देखिएको छ। फेरि उनका कुनै लक्षण पनि छैन।

नेपालगन्जका पत्रकार टिएस ठकुरी कि त विद्यार्थीबाट शिक्षकमा सरेको र शिक्षकले अरुलाई सारे वा धार्मिक गुरु भएकाले धार्मिक नेतासँग भेट भइरहने भएकाले त्यहाँबाट सरेको अनुमान गर्छन्। संक्रमणको अवस्थालाई नजिकबाट नियालिरहेका उनी भन्छन्, 'यो जटिल अवस्था हो कि जरो कुन व्यक्ति हो। तर, धार्मिक शिक्षक भएकाले कोरोना सार्ने माध्यम उनी नै हुन्। किनकि उनको सम्पर्क बालकदेखि वृद्ध सबैसँग भएको देखिन्छ। शिक्षक भएकाले सबैले उनलाई मान्छन्। सुरु कहाँबाट त्यो भन्न कठिन छ। तर, शिक्षक यसलाई एकबाट अर्कोमा सार्ने एउटा प्रमुख माध्यम हुन्।'

नेपालगन्जबाट पनि धार्मिक नेताहरु दिल्लीको जमाती भेलामा गएकाले त्यसबाट सर्ने सम्भावना पनि उतिकै रहने उनको बुझाई छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली संक्रमितका परिवारका सदस्य तथा आफन्त पहिचान गरी क्वारेन्टाइनमा राख्ने काम भइरहेको बताउँछन्।

'त्यसपछि कहाँ गए, के गरे? ट्राभल हिस्ट्री हेर्छौं। को मान्छेको सम्पर्कमा गएका थिए? एउटाले व्यक्तिले अरुलाई सारेको हो कि अरुबाट सरेको हो?  भन्ने कुरा महत्वपूर्ण छ,' उनले भने।  

एसपी ओलीले थपे, 'पहिलो त जरो कहाँ छ भन्ने खोज्दैछौँ। एउटा व्यक्ति भारतबाट आयो। त्यसले उनीहरुलाई सार्‍यो, वा कुनै व्यक्तिलाई सारेर भारतबाट आएकोभन्दा पनि सेकेण्ड म्यानले सारेको भए समुदायमा संक्रमण फैलिएको देखिन्छ। वा भारतबाट आएको व्यक्तिलाई अर्को दोस्रो व्यक्तिले सार्‍यो?  त्यो मान्छे काम विशेषले कहाँ कहाँ पुग्यो? यहाँ मात्र होइन अन्य ठाउँ पनि पुग्यो होला कुनै व्यवसाय गर्ने मान्छे हुन कि त्यो पनि हेर्दैछौँ। त्यसबाट ग्राहकमा सारेको पनि हुनसक्छ। यसरी हामी विभिन्न तरिकाबाट अनुसन्धान अघि बढाएका छौँ।'

एसपी ओलीले पहिलो व्यक्ति वा दोस्रो/तेस्रो व्यक्तिबाट सरेको कुरा पहिचान गर्ने प्रयास भइरहेको बताए।

'यी मान्छे आफ्नै घरपरिवारका हुन कि अन्य मान्छे, गाउँ समुदायका हुन्। अर्को कुर यिनीहरुको कुनै व्यवसाय छ कि छैन समाजमा, यिनीहरुले पनि सार्ने काम त गरेनन्? सबै ढंगले हामी हेर्छौं,' उनले भने, 'अन्यको पनि रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएपछि पहिचान गर्ने काम हुन्छ।'

उनका अनुसार संक्रमित बढेपछि जनताहरु आफैं जागरुक भएका छन्। बाहिरकालाई प्रवेश निषेध गरेका छन्। त्यसैगरी जिल्लामा अत्यावश्यक आवागमनलाई अवरोध नहुनेगरि लकडाउनलाई कडा पारिएको छ।

'संक्रमण देखिइसकेपछि सुरक्षा निकाय सतर्क भएको छ। जनताहरुलाई पनि प्रचारप्रसार गरेर सचेत बनाइराख्या छौँ। भोलिदेखि सुक्ष्म ढंगले अध्ययन अनुसन्धान सुरु हुन्छ,' उनले भने।

एसपीले सीमा क्षेत्रमा पनि थप कडाई तथा सतर्कता अपनाइएको बताए। 'यहीँ भएर सर्‍यो वा अन्त जाँदा सर्‍यो कि ल्याएर एउटा व्यक्तिले सार्‍यो कि दोस्रो वा तेस्रो व्यक्तिबाट सर्‍यो कि भन्नेमा हाम्रो अनुसन्धान फोकस छ,' उनले भने।  

उनका अनुसार अहिले त्रासभन्दा पनि मान्छे जागरुक भएका छन्। प्रहरीलाई फोन गरेर बाहिरबाट आएका मान्छेबारे सूचना दिइरहेका छन्। नयाँ मान्छे आएको भए तुरुन्त सूचना दिनुपर्छ भन्ने चेतना आएको छ। 'फलानो मान्छे हाम्रो घरको छेउमा बसिरहेको छ जाँच गरिदिनुपर्‍यो भन्ने आइरहेको छ। यस हिसाबले जनतामा चेतना उठेको छ,' उनले भने, 'कन्ट्याक्ट ट्रेसिङ चलिरहेको छ। नयाँको भोलिबाट हुन्छ।'

कन्ट्याक्ट ट्रेसिङमा फिल्डमा खटिरहेका प्रहरी निरीक्षक सुरज खत्रीले भोलि सबै संक्रमितको ट्राभल हिस्टी बुझ्ने काम सुरु हुने बताए। 'अहिले हामीले भर्खरै ७ वर्षको बच्चासहित सबै संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा पुर्‍याएर आयौँ,' उनले भने, 'भोलि बिहानैदेखि हामी र्‍यापिड रुपमा जान्छौँ। जो-जो रिलेटेड छ ट्रेसिङ गरेर पत्ता लगाउँछौं। जरो गुरु हो कि अरु विद्यार्थी अध्ययन गर्दछौँ। गुरुको सुरुमा टेस्ट गर्दा पहिला देखियो। त्यसो हुँदा उनबाट सरेको आशंका गरियो। उनीसँग जोडिएका अरु १५ जनामा संक्रमण देखियो। अब कसबाट सरेको पत्ता लाग्छ।'

भेरी अस्पतालका डाक्टर प्रकाश थापा पनि जरो पत्ता लाग्न समय लाग्ने बताउँछन्। कन्ट्याक्ट ट्रेसिङबाटै संक्रमणको खतराको स्थिति थाहा हुने र जरो पनि पत्ता लाग्ने उनको भनाई छ। सबै पक्ष अहिले कन्ट्याक्ट ट्रेसिङमा फोकस हुनुपर्नेमा उनले जोड दिए। साथै नागरिकले पनि सतर्कता अपनाउनुपर्ने उनी बताउँछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell