
काठमाडौं : रुपन्देही जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै जिल्लाको सैनामैना नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिकसत्र २०७६ को नतिजा तत्काल प्रकाशन नगर्ने निर्णय गरेको छ।
यसअघि प्रदेश ५ सरकारले सबै स्थानीय तहलाई नतिजा प्रकाशन गरी भर्ना लिन परीपत्र जारी गर्दै निर्देशन दिएको थियो। निर्देशन दिएको भोलिपल्ट नै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आइतवार बसेको नगरपालिकाको विपद तथा राहत व्यवस्थापन समन्वय समितिको बैठकले नगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुको शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्ने कार्य अर्को सूचना प्रकाशन नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन वडास्तरीय र टोलस्तरीय गस्ती टोली गठन गर्ने निर्णय गरेको छ।
वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको गस्ती टोलीमा नेपाल प्रहरीका दुई जना प्रतिनिधि, वडाका समाजसेवी दुई जना रहने निर्णय भएको छ। त्यस्तै टोल विकास संस्थाका अध्यक्षको संयोजकत्वमा स्थानीय आमा समूहका प्रतिनिधि र स्थानीय क्लबका प्रतिनिधि सम्मिलित टोलस्तरीय गस्ती टोली निर्माण गर्ने बैठकले निर्णय गरेको हो।
बैठकले लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन पसलहरु खोल्ने समय निर्धारणसमेत गरेको छ। जसअनुरुप खाद्य तथा तरकारीजन्य उपभोग्य वस्तुका पसल विहान ८ बजे देखि दिउसो ३ बजेसम्म खुल्ला रहने निर्णय गरेको छ। त्यस्तै बैठकले दुग्धजन्य वस्तुका पसल विहान ७ बजे देखि ९ बजेसम्म र दिउँसो ३ बजेपछि ५ बजेसम्म खोल्ने निर्णय गरेको हो।