PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किन मिडियासँग रिसाए प्रधानमन्त्री ओली? मे १ मा मिडियामाथि आलोचना, प्रेस स्वतन्त्रता दिवसमा मौन



विधुर ढकाल

किन मिडियासँग रिसाए प्रधानमन्त्री ओली? मे १ मा मिडियामाथि आलोचना, प्रेस स्वतन्त्रता दिवसमा मौन

काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगायो। लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा कामकाज ठप्प भयो दैनिक रोजिरोटी गुम्दै गयो। रोगको त्रासमा बाँचेका मजदुरहरु भोकको त्रासले काठमाडौं छाड्न थाले। पैदल हिँडेरै काठमाडौं छाड्ने मजदुरको लस्कर सबैजसो राजमार्गमा देखियो। मिडियामा उनीहरुका विषय छापिए। सामाजिक सञ्जालमा ती भाइरल भए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले ती दृष्यलाई थियटरमा मञ्चन भएको कुनै नाटकको 'प्लट'का रुपमा व्याख्या गरे। प्रधानमन्त्रीले सोझै मिडियाले षड्यन्त्र गरेर त्यस्ता दृष्य देखाएको आक्षेप लगाए। प्रहरी प्रशासनले थाहै नपाइ धादिङ पुगेका मजदुरहरुको लाइन काठमाडौंबाट पुगेका पत्रकारले कसरी पुगे? प्रधानमन्त्री ओलीको प्रश्न थियो।

अघिल्ला दिन खिचेको फोटो भोलिपल्ट पोस्ट गरेको भन्दै उनले मिडियाको आलोचना गरे। पछिल्ला दिनमा प्रधानमन्त्री ओली मिडियाप्रति थप अनुदार देखिँदै आएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा मिडियाहरुले जनताको आवाज बोल्दा सरकारको विरोधमा पनि आवाज आए। अलपत्र कामदारको तस्बिर देखिए। प्रधानमन्त्री यसैमा रुष्ट भए।

प्रधानमन्त्री ओलीले मजदुर दिवसको दिन मे १ मा १७ मिनेट लामो भिडियो सन्देश जारी गरे। सन्देशमा प्रधानमन्त्रीको पहिलो प्रहार मिडियामाथि गरे।

‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो। आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले मजदुरहरुको नाममा सम्बोधन गर्दै भनेका थिए, 'आज नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ।'

प्रधानमन्त्री ओलीले मिडियाले अस्थिरता निम्त्याएको आरोप लगाउँदै गर्दा उनले मिडियामा माथि पटक पटक प्रहार गर्दै गएका छन्।

मजदुर दिवसका दिन बिहान २.३० बजे 'अब आशु खसाउन पर्दैन' कविता लेखेका उनले अर्को दिन पनि अर्को कविता लेखे- 'बन्छ नमुना नेपाल'।

मे ३ गते प्रेस स्वतन्त्रता दिवस - राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश आयो। विपक्षी नेता शेरबहादुर देउवाले सन्देश जारी गरे।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मिडियाले खेलेको भूमिकाको प्रसंसा गर्दै धन्यवाद दिइयो।

तर, अघिल्लो वर्ष प्रेस स्वतन्त्रताको शुभकामना दिएका ओलीले यस वर्ष शुभकामना दिन जरुरत ठानेनन्।

प्रधानमन्त्रीलाई अधिनायकवादी भयो भन्ने विपक्षीले आरोप लगाउँदै गर्दा प्रधानमन्त्री ओलीले भन्ने गर्थे- 'यही स्वतन्त्रताको लागि १४ वर्ष जेल बसेको हुँ।' मिडियामाथि अंकुश लगाउने कोसिस भयो भन्ने आरोप लगाउँदा पनि दोहोर्‍याउँथे - 'प्रेस स्वतन्त्रताका लागि १४ वर्ष जेल बसेको हुँ।'

'विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम नागरिक तथा सञ्चारकर्मी साथीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु। संवैधानिक,कानुनी र व्यवहारिक रुपमै सुरक्षित नेपाली प्रेसलाई स्वच्छ,व्यावसायिक र सिर्जनशील बनाएर यसले अझ मर्यादित/प्रतिष्ठित स्थान प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,' गत वर्ष मे ३ मा प्रधानमन्त्रीले ट्विट गरेका थिए।

प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टबाट मात्र नभइ प्रधानमन्त्री ओलीले गत वर्ष आफ्नो व्यक्तिगत एकाउन्टबाट पनि शुभकामना दिएका थिए।

तर, यस वर्ष उनको शुभकामना सन्देश आएन।

पछिल्लो पटक एकएक गर्दै प्रधानमन्त्रीको आलोचना मिडियामा भइरहेको छ। यति समूहप्रति देखाएको आशक्तिपछि गोकुल बास्कोटाको 'टेप काण्ड' पछि लगातार रुपमा मिडियामा आलोचित भइरहेका ओली औषधी खरिद प्रकरण, अध्यादेश काण्ड, संसद अपहरण काण्ड गर्दै एक पछि अर्को गर्दै काण्डमा फसिरहेका छन्। मिडियाहरु प्रधानमन्त्री प्रति आलोचित पनि देखिए यसबीचमा। मिडियामात्र होइन, आफ्नै दलभित्र पनि ओलीमाथि प्रश्न उठाइयो। राजिनामा नै मागियो।

उनको राजीनामा माग भएको समाचार नेकपाले नै आयोजना गरेर 'सपथ' ग्रहण गराएका पत्रकारहरुले पनि लेखे। पार्टी कार्यालयमा मुठ्ठी कस्न लगाएका पत्रकारले समेत उनको आलोचना गर्दै लेखेका कारण प्रधानमन्त्री ओली बढी नै मिडियाप्रति नेगेटिभ भएको हुनुपर्छ।

सत्तामा बाहिर हुँदा मिडियाको साथ र सत्तामा हुँदा मिडियाप्रति आक्रमक हुनु शासकहरुको चरित्र बन्दै गएको छ। प्रेस स्वतन्त्रताको इन्डेक्टसमा नेपाल उधोगतितिर लागेको देखिएको छ। प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता दिवसमा संदेश नदिएर के संदेश दिन खोजेका हुन्, त्यो उनैले जानुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell