PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रसिया पनि संकटमा : पुटिनको 'मुड चेन्ज' गराउने गरी बढे कोरोनाका संक्रमित



पहिलोपोस्ट

रसिया पनि संकटमा : पुटिनको 'मुड चेन्ज' गराउने गरी बढे कोरोनाका संक्रमित

मस्को : आइतवारमात्रै १० हजार ६ सय ३३ नयाँ कोरोना संक्रमित थपिएपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि टाउको दुखाई बनेको छ। रसियामा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो ठूलो केस हो।

रसियामा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जुन विश्वको धेरै संक्रमण भएका मुलुकको सातौं सूचीमा पर्छ। यद्यपि, रसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने १ हजार २ सय ८० मात्र छ। राजधानी मस्कोमा सबैंभन्दा धेरै संक्रमण फैलिएको छ। रसियाका कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी मस्कोमै छन्।

गत सातामात्रै रसियाले आइसोलेसन अवधि बढाउँदै मे ११ सम्मलाई निर्धारण गरेको थियो। 'दैनिक संक्रमित हुनेको संख्या तुलनात्मक रुपमा स्थिर भइरहेको छ तर स्थिति अझै धेरै गम्भीर छ,' राष्ट्रपति पुटिनले भनेका छन्, 'भाइरसको घातक संक्रमण अझै बाँकी छ।'

रसियामा दुई दर्जन अस्पतालहरु क्वारेन्टाइनका लागि बन्द गरिएपछि चिकित्सकहरु आक्रोशित छन्। किनकि त्यहाँ चिकित्सकहरुसमेत संक्रमणको सिकार भए। रसियाका स्वतन्त्र मिडिया र गैर सरकारी संस्थाले चिकित्सकहरुले अपर्याप्त सुरक्षाका साधनको प्रयोग गर्न वाध्यभएको जनाएका छन्। सरकारी संयन्त्रका मानिसहरुको खुट्टा तान्ने शैलीले जोखिम थप बढाएको उनीहरुको टिप्पणी छ।

गत बिहीवारमात्रै रसियामा संक्रमितको संख्या १ लाखभन्दा माथि कटेको हो। त्यसपछि प्रधानमन्त्री मिखाइल मिस्हुस्तिनले टेलिभिजनमार्फत् राष्ट्रपति पुटिनमार्फत् भिडियो कन्फरेन्स गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका थिए।

शनिवारमात्रै रसियाको चीनसँगको सीमामा रहेका सबै रेस्टुराँहरुलाई अर्को नोटिस नभएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ। चीनले रसियासँगको सीमा क्षेत्रमा कडाइ गरेको हो जबकि चीनमा क्रमश: कोरोनाबाट मुक्त हुँदै गइरहेको छ।

अप्रिल १० मा मस्कोबाट साङ्घाइ आइपुगेको फ्लाइटका मानिसहरुलाई हालै परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ। रसियाबाट चीन फर्केका नागरिकहरुमा कोरोना देखिएकाले पनि चीनले सचेतता अपनाएको हो।

रसियाको रक्षा मन्त्रालयले पनि मिलिट्री एकेडेमीमा संक्रमण देखिएको जनाएको छ। मस्कोमा मे ९ मा आयोजित भिक्ट्री डे परेडमा सहभागी रहेका सैनिकमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

गत मार्चसम्म राष्ट्रपति पुटिन कोरोना संक्रमणको विश्वव्यापी संकटमा कन्फिडेन्ट देखिन्थे। उनले स्थिति नियन्त्रणभित्रै रहेको दावी गरिरहेका थिए। अप्रिल १ सम्म पनि अन्तर्राष्ट्रिय उद्धारकर्ताका रुपमा आफूलाई पुटिनले स्थापित गरिरहेका थिए। उनले अमेरिकाको सबैभन्दा संक्रमित न्युयोर्कका लागि औषधी सामग्री भरिएको विमान पठाएका थिए।

तर, अप्रिल १३ मा पुग्दा उनको मुड परिवर्तन भइसकेको थियो। त्यतिखेर उनले भनेका थिए, 'हामीसामु ठूलो संकट छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell