
काठमाडौं : कोरोना भाइरसको हटस्पट बनेको बाँकेका सबै संक्रमितसँग सोधपुछ भइरहेको छ।
संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका १६ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउन आवश्यक सोधपुछ चलिरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए।
'ट्रेसिङ सुरु भएको छैन। संक्रमितसँग अन्तर्वार्तामार्फत् बुझ्दै छौं। कहाँ गयो, को सँग बस्यो, को को सम्पर्कमा आए, के काम गर्ने लगायत कुरा बुझिरहेका छौं,' उनले भने, 'मोबाइल, भाइबर, मेसेन्जर, स्काइपबाट सोधपुछ भइरहेको छ। उहाँहरुबाट सूचना आएपछि कन्ट्याक्ट ट्रेसिङमा जान्छौं।'
ट्रेसिङमा सघाउन केन्द्रबाट स्वास्थ्य मन्त्रालयले टोली पठाएको छ भने प्रदेशबाट सामाजिक मन्त्रीसहित स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पुगिसकेको छ।
३९ जनाको रिपोर्ट सार्वजनिक हुँदै
भेरी अस्पतालमा अहिले पहिलो संक्रमित मदरसाका शिक्षकसँग सम्पर्कमा रहेका ३९ जनाको कोरोना भाइरसको पीसीआर परीक्षण भइरहेको छ। हिजो आइतवार ६० जनाको परीक्षण हुँदा १५ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। बाँकी ३९ जनाको रिपोर्ट ३ बजेपछि आउने जानकारी पाएको एसपी ओलीले बताए।
'तीन बजेपछि रिपोर्ट आउने भन्ने छ। माथि स्वास्थ्य मन्त्रालयबाटै सार्वजनिक होला,' उनले भने।
बाँकेमा गत शुक्रवार पहिलोपटक कोरोना पोजेटिभ देखिएका मदरसाका ६० वर्षीय शिक्षकको सम्पर्कमा आएका ९० जना भन्दा बढीको स्वाब संकलन गरेर भेरीमा परीक्षण गरिएको थियो। ६० जनाको परीक्षण रिपोर्ट आउँदा ७ वर्षीया बालिकासहित १५ मा संक्रमण देखिएको छ। हालसम्म यहाँ १६ जना संक्रमित पुगेका छन्। ३९ जनाको रिपोर्ट आउन बाँकी रहँदा कति थपिएला भन्ने चासो छ।