
काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक जारी छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजेपछि बैठक बसेको हो।
प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीका अनुसार बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ।
कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ।
अब लकडाउनको अवधि बढाउने वा मोडालिटी परिवर्तन गर्ने भन्ने बहस पनि चलिरहेको छ। आजको बैठकमा सो विषयमा पनि छलफल भइरहेको छ।
सरकारकारले लकडाउनका कारण नै कोरोना संक्रमण नियन्त्रण गर्न सकिएको दावी गर्दै आएको छ। हाल नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।