59.jpg)
जनकपुरधाम : धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ। धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्ध परेपछि श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। २५ वर्षीया विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतीले अवैध सम्बन्धलाई लिएर प्रश्न गर्न थालेपछि आवेशमा आएर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
उनले विणालाई बाली काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरेको जनाएका छन्। हत्यापछि शव जंगलमै गाडेको प्रहरीले जानकारी दिएको छ। प्रहरी विणाको शव ४ दिनपछि निकालेको छ। वैशाख १८ गते बिहीवार साँझ करिव साढे पाँच बजे हत्या गरेको चौहानले प्रहरी समक्ष बयान दिएका छन्।
हत्या गर्नुअघि नै चौहानले खाडल खनेर तयार पारेको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘हत्या गर्नुअघि खाडल खनेर तयार बनाएको रहेछ,’ इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले भने, 'घटना योजनावद्ध तरिकाले भएको देखिन्छ।’
पेशाले गाडी चालक रहेको चौहान वैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरीकहाँ उजुरी गर्नसमेत पुगेका थिए।
पाँच वर्षअघि विणासँग अन्तरजातीय बिहे गरेकाले बुबाआमाले घरमा बस्न नदिएपछि ससुरालीकै छेउमै घर बनाएर बस्दै आएका थिए।
खाडलमा पुरिएको शवलाई प्रहरी टोलीले आइतवार साँझ पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको प्रहरी निरीक्षक कार्कीले बताए ।
हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ। उनीहरुको एक छोरा र एक छोरी छन्।