काठमाडौं: आइतबार साँझबाट काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएपछि नागढुंगा नाकामा काठमाडौं भित्रिने सवारीको संख्या पातलिएको छ।
बिहान साढे ९ बजे नाकामा पुग्दा अत्यावश्यक सवारीबाहेक अन्यको आगमन शून्यझैं थियो। विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका सवारीलाई समेत उपत्यकाभित्र छिर्न रोक लगाएपछि नाकामा अन्य दिनभन्दा कम चहलपल थियो। तर, ढुवानीका सवारीसाधन भने निर्वाध नै देखिए।
त्यस्तै बिरामी बोकेर मोटरसाइकलमा आएका मानिसमाथि शंका लागेपछि प्रहरीले रोकेर राखेको थियो 'उहाँसँग बिरामीको कुनै पुर्जा छैन। फेरि बिरामीजस्तो पनि लागेन,' चेक प्वाइन्टमा खटिएका एक प्रहरीले भने।
त्यसो त अहिले मोटरसाइकलबाट काठमाडौं भित्रिनेको संख्या पनि कम देखिएको छ। विभिन्न जिल्लामा कोरोना संक्रमित थपिँदै गएपछि मानिसले काठमाडौंलाई सुरक्षित महसुस गरेका छन्। त्यसैले पनि सुरुमा काठमाडौंबाट गएका मानिस गाउँबाट फर्किने आशंकामा नाकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सरकारले लकडाउनलाई व्यवस्थित बनाउन विभिन्न मोडालिटी बनाइरहेको छ। विभिन्न विज्ञहरुको सल्लाहमा तयार पारिएको मोडालिटी अनुसार काठमाडौं सुरक्षित क्षेत्र देखिएको छ। त्यसैले पनि मानिसको आगमन काठमाडौंमा हुने आशंका बढेकाले सम्बन्धित निकायले नाकामा कडाइ गरेका हुन्।