
काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक भोलि फेरि बस्नेगरी सकिएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बसेको बैठकमा २५ गते पूरा हुने लकडाउनपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण प्रसाद विडारीले जानकारी दिए।
कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेगरी बैठक सुरु भएको थियो। सरकारले चैत ११ गतेदेखि लकडाउन वैशाख २५ गते सकिँदैछ।
'ठोस निर्णय छैन। भोलि फेरि बस्ने निर्णय भएको छ,' बैठकबारे विडारीले भने, '२५ गतेपछिको कस्तो गर्ने भन्ने वर्कआउट गरिरहेका छौं। भोलि खाका बनाएर मन्त्रिपरिषदमा बुझाउने तयारी छ।'
बैठक सकिनु केही अघि निस्किएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गृह मन्त्रालयको आग्रहमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने वर्कआउटको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको बताएका थिए।