काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर ४ गते भएको सहमतिमा दत्तचित्त भएर अघि बढ्ने निष्कर्षमा पुगेका छन्।
सोमवार प्रधानमन्त्री निवास बालुवाटरमा भएको वार्तामा ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति बनेको हो। मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शनिवार सचिवालय बैठक बस्नुअघि प्रचण्ड र ओलीबीचको भेटमा यसअघि भएको कार्यविभाजनलाई पालना गर्ने सहमति भएको थियो। उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी समितिबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ।
गत मंसिरमा पार्टीभित्रको विवाद बढ्दै गएपछि दुई अध्यक्षको कार्यविभाजन गरिएको थियो। समझदारी अनुसार ओली पूर्ण कार्यकाल प्रधानमन्त्री रहने र पार्टीको कामको पूर्ण जिम्मेवारी प्रचण्डले लिने उल्लेख थियो। यस्तै, पार्टीमा प्रधानमन्त्री र प्रचण्डको समान मर्यादाक्रम रहने, आम रुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने, दुबैले अध्यक्षता गर्नु परेमा समान हैसियतमा रहने विषय समेटिएका थिए।
पछिल्लोपटक ओली एकलौटी ढंगले अघि बढेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरी दल विभाजन गर्न मिल्ने अध्यादेश जारी भएपछिको विवाद टुंगिएको छैन। वैशाख २५ गते स्थायी कमिटी बैठक डाँकिएको छ। आजको भेटमा स्थायी कमिटी बैठकको तयारीबारे पनि छलफल भएको थियो।