PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बाँकेका संक्रमित १६ जनाको 'ट्राभल हिस्ट्री' खोजिँदै, ३९ जनाको परीक्षण रिपोर्ट अझै सार्वजनिक भएन



कमलराज भट्ट

बाँकेका संक्रमित १६ जनाको 'ट्राभल हिस्ट्री' खोजिँदै, ३९ जनाको परीक्षण रिपोर्ट अझै सार्वजनिक भएन

काठमाडौँः कोरोना भाइरसको हटस्पट बाँकेका सबै संक्रमितसँग सोधपुछ भइरहेको छ।

संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा रहेका १६ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउन आवश्यक सोधपुछ चलिरहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए।

'ट्रेसिङ सुरु भएको छैन। संक्रमितसँग अन्तर्वार्तामार्फत बुझ्दैछौँ। कहाँ गयो, कोसँग बस्यो, को-को सम्पर्कमा आए लगायत कुरा बुझिरहेका छौँ,' उनले भने, 'मोबाइल, भाइबर, मेसेन्जर, स्काइपबाट सोधपुछ भइरहेको छ। उहाँहरुबाट सूचना आएपछि कन्ट्याक्ट ट्रेसिङमा जान्छौं।'

ट्रेसिङमा सघाउन केन्द्रबाट स्वास्थ्य मन्त्रालयले टोली पठाएको छ। प्रदेशबाट सामाजिक मन्त्रीसहित स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पुगिसकेको छ।  

३९ जनाको रिपोर्ट अझै सार्वजनिक भएन 

भेरी अस्पतालमा अहिले पहिलो संक्रमित मदरसाका शिक्षकसँग सम्पर्कमा रहेका ३९ जनाको कोरोना भाइरसको पीसीआर परीक्षण भइरहेको छ। आइतबार ६० जनाको परीक्षण हुँदा १५ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। बाँकी ३९ जनाको रिपोर्ट सोबार आउने बताइए पनि सार्वजनिक भएको छैन।

बाँकेमा गत शुक्रबार पहिलोपटक कोरोना पोजेटिभ देखिएका मदरसाका ६० वर्षीय शिक्षकको सम्पर्कमा आएका ९० जनाभन्दा बढीको स्वाब संकलन गरेर भेरीमा परीक्षण गरिएको थियो। ६० जनाको परीक्षण रिपोर्ट आउँदा ७ वर्षीया बालिकासहित १५ मा संक्रमण देखिएको छ। हालसम्म १६ जना संक्रमित पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell