PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भर्चुअल कक्षा पढाउँदा शिक्षकलाई अनौठो अनुभव, 'क्यामेरामेनलाई विद्यार्थी मानेर पढाउँछौँ'



फूलमाया पुरी

भर्चुअल कक्षा पढाउँदा शिक्षकलाई अनौठो अनुभव, 'क्यामेरामेनलाई विद्यार्थी मानेर पढाउँछौँ'

लकडाउनकारण प्रत्यक्ष शिक्षा क्षेत्र पनि प्रभावित छ। नेपालमा पनि एसईईदेखि स्नातकोत्तरसम्मका परीक्षा स्थगित छन्।

यसबीचमा विकल्पमा भर्चअल कक्षा सञ्चालन भइरहेका छन्।

एसईईलाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले भर्चुअल कक्षा सञ्चालनमा  ल्याएको छ। वैशाखको पहिलो सातादेखि भक्तपुर नगरपालिकाको संयोजनमा भादगाउँ टेलिभिजनमा विषयगत कक्षाको प्रशिक्षण प्रसारण भइरहेका छन्।

शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक रोशनराज टुइटुइ पनि भर्चुअल कक्षा लिइरहेका छन्।

पढाउने विषयको पालो परेको दिन टुइटुइ बिहानै बागेश्वरी माध्यामिक विद्यालय पुग्छन्। त्यही नै एक कक्षामा भादगाउँ टेलिभिजनमा प्रसारण गर्न भिडियो रेकर्ड गरिन्छ। बिहान ८ बजेदखि ११ बजेसम्म तीनवटा विषयको कक्षा रेकर्ड गरिन्छ।

विद्यार्थीको अगाडि उभिएर पढाउने बानी परेका टुइटुइलाई क्यामराको अगाडि अभिएर पढाउन अनौठो लाग्यो।

गणित विषय पढाउँदै आएका उनी भन्छन्,‘विभिन्न विद्यालयका पाँच जना शिक्षकहरुले गणितको कक्षा लिइरहेका छन्। कोही अल्जेब्रा त कोही स्टास्टिक्सको कक्षा लिइरहेको अवस्थामा मैले अर्थमेडिक्सको कक्षा पढाउँछु।'

शीतल बरुवाल भर्चुअल कक्षा लिँदै। फोटो : सिन्ह्वा

गणित पढाउने शिक्षकहरुको संयोजन उनी आफैँले गरिरहेका छन्।

क्यामेरा अघि उभिएर विद्यार्थी नै छन् भन्ने कल्पना गरेरै पढाउने गरेको उनी बताउँछ। ‘हामीले त कक्षा कोठा र विद्यार्थीको कल्पना गरेर क्यामेरा पर्सनलाई पढाउने हो’ उनले भने।

भर्चुअल कक्षाका लागि पनि शिक्षकहरु लेसन प्लान नै बनाएर तयारी गर्ने गरेका छन्। तर अन्तर्क्रिया भने हुँदैन।

‘यो कक्षामा शिक्षक र विद्यार्थीबीच अन्तर्क्रिया हुँदैन। एकतर्फी कक्षा सञ्चालन भए पनि हामीले विद्यार्थीले बुझ्ने वातावरण सिर्जना गरेका छौँ। उनीहरुलाई गृहकार्य भने दिने गरेका छौं। क्यामेराको अगाडि एकोहोरो भट्याउँदा कहिलेकाहीँ बोलेको बिग्रिन्छ त्यसपछि फेरि रेकर्ड गर्नुपर्छ,’ उनले भने।

यसरी रेकर्ड गरिएका भिडियो भादगाउँ टेलिभिजनबाट साँझ ५ देखि ८ बजेसम्म प्रसारण गरिन्छ। जुन भादगाउँको फेसबुक पेजमा समेत प्रसारण गरिन्छ। कतिपय विद्यार्थीले त्यसैबेला कमेन्ट गर्छन्। जसको जवाफ दिन कहिले सम्भव हुन्छ त कहिले अनुकूल हुँदैन।

‘कक्षा कोठामा विद्यार्थीसँग दोहोरो संवाद हुन्थ्यो। उनीहरुका जिज्ञासालाई तत्कालै सम्बोधन गर्न सकिन्थ्यो। अहिले त्यो सम्भव छैन।'

तर पनि यो कक्षाले विद्यार्थीलाई परीक्षालाई सहयोग पुग्ने भन्दै उनी भन्छन्, ‘यो हाम्रा विद्यालयका विद्यार्थीका लागि मात्रै उपयोगी हुने होइन। टेलिभिजन हेर्ने, युट्युब र फेसबुकमार्फत सबै विद्यार्थीले यसको उपयोग गर्न सक्छन्।'

एसईई परीक्षा कहिले हुने टुंगो छैन। परीक्षाको मिति जुनसुकै बेला सार्वजनिक हुनसक्छ। त्यसैले लकडाउनमा घरमा बस्दा परीक्षाको तयारीका लागि यो भर्चअल कक्षाले विद्यार्थीलाई सहयोग हुने उनको अनुमान छ।

टुइटुइ अहिलेको सिकाइ पूर्ण रुपमा परीक्षा केन्द्रित रहेको दाबी गर्छन्। जसमा नयाँ कुरा सिकाउनेभन्दा पनि परीक्षामा आउने सम्भावित प्रश्नहरुको हल कसरी गर्ने भन्नेमा कुरालाई प्राथमिकता दिइएको छ। भिडियो फेसबुक र युट्युबमा हुने हुँदा त्यसमा लागेका जिज्ञासा विद्यार्थीहरुले इमेलमार्फत शिक्षकसँग संवाद गर्न सक्छन्।

हाल कतिपय विद्यार्थी गाउँमा छन्। जसले गर्दा उनीहरु प्रत्यक्ष रुपमा लाइभ हेरेर पढ्न नसके पनि युट्युबमा भने हेर्न सक्ने उनी बताउँछन्।

भन्छन् ‘हामीले भर्चुअल कक्षा सरु गर्दा सम्पर्कमा रहेका विद्यार्थी अभिभावकलाई अघिनै जानकारी गराएका थियौँ। कोहीले हामीसँग इन्टरनेट छैन भने। उनीहरुका लागि टेलिभिजनमा यो प्रसारण हुन्छ। केहीले युट्युबमा भिडियो जहिले पनि हेर्न मिल्ने हुँदा परीक्षा तयारी गर्न सजिलो हुने बताए।’

अहिले लकडाउनको समयमा विद्यार्थी घरमै बस्दा मोबाइल र टिभीमा व्यस्त भएको पाइन्छ । यस्तो समयमा परीक्षाको तयारीका लागि यो भर्चुअल कक्षा उपयोगी हुने उनको भनाइ छ।

परीक्षा केन्द्रित कक्षा सञ्चालन गरेकोले भर्चुअल कक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढेको उनको बुझाइ छ। तर, यसको दीर्घकालिन प्रभावकारिता के कति भन्नलाई त अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।

भक्तपुर नगरपालिकाको संयोजनमा सञ्चालित भर्चअल कक्षामा विभिन्न सामुदायिक विद्यालयका करिब २० जना शिक्षकशिक्षिकाले आफ्नो विषयको कक्षा प्रस्तुत गरिरहेको कक्षा संयोजन गरिरहेका शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्र गोपाल कर्मचार्यले बताए।

कर्मचार्यका अनुसार नगर शिक्षा शाखाको निर्देशन अनुसार हाल अनिवार्य विषय ( नेपाली गणित अंग्रेजी सामाजिक विज्ञान जनसंख्या स्वाथ्य लगायत) छ वटा विषयको नियमित कक्षा सञ्चालन भइरहेको छ।

सुरुवातमा ऐच्छिक विषय नराखिए पनि आगामी दिनमा त्यसलाई राख्ने तयारी भइरहेको छ। विद्यार्थीहरुले कक्षामा ऐच्छिक विषय पनि राख्न आग्रह गरेपछि यसको तयारी भएको हो।

परम्परागत शिक्षण विधिबाट अगाडि बढिरहेको अवस्थामा कक्षालाई वैकल्पिक शिक्षाको अवसरका रुपमा प्रयोग गर्न सकिने कर्मचार्यको बुझाइ छ। सुरुवातमा एसईई परीक्षालाई आधार माने पनि यसलाई नियमित शिक्षण सिकाइमा जोड्न जरुरी रहेको उनले बताए।

‘यस सिकाइलाई नियमित शिक्षणमा सहयोगी सामाग्रीको रुपमा प्रयोग गर्न सकिन्छ। त्यसैले यसलाई भक्तपुर नगरपालिकाले आधारभूत तहमा पनि प्रयोगमा ल्याउने सोच छ’ उनले भने।

हाल दैनिक रुपमा सञ्चालन भइरहेको कक्षालाई एसईई परीक्षा सुरु हुने केही दिनअघिसम्म सञ्चालन गर्न सक्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell