PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

लकडाउनमा प्रहरीको एक्सन : २१ सय पास खोसिए, ९१ हजार मानिस कारबाहीमा



पहिलोपोस्ट

लकडाउनमा प्रहरीको एक्सन : २१ सय पास खोसिए, ९१ हजार मानिस कारबाहीमा

काठमाडौं : सडकमा निस्किएका प्राय मानिस अहिले प्रहरीको नजरमा पर्छन्। कता हिँड्नु भएको? पास छ? सडकमा खटिएका प्रहरीको प्रश्नको सामाना नगर्ने कमै होलान्। कतिले यसलाई प्रहरीको ड्युटी मानेर सहज रुपमा लिन्छन् त कतिले अनावश्यक दुःख दिएको समेत अनुभूति गरेका छन्।

लकडाउनलाई सुरक्षित बनाउन प्रहरी खटिएको छ। प्रहरीले सडकमा निस्किएकामाथि निगरानी कम गर्ने हो भने लकडाउन खुकुलो बन्छ। र, अत्यावश्यक भनेर लिइएको पास दुरुपयोग गर्नेहरु पनि बढ्ने प्रहरीले जनाएको छ। त्यसैले अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्दै आएको छ। कारबाही अर्थात् केही घण्टा सडकमै उभ्याउने। 

सडकमा मानिसलाई राख्नको लागि होल्डिङ एरिया बनाइएको छ। प्लाष्टिको डोरी टाँगेको क्षेत्रमा मानिसलाई राखिन्छ। ४२ दिनदेखि प्रहरीले यसरी नै मानिसलाई कारबाही गर्दै आएको छ।

'हामीले सडकमा हिँड्ने सबैलाई कारबाही गरेको होइन। जो अनावश्यक रुपमा हिंड्छ त्यसलाई मात्र हो। 'महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

काठमाडौं उपत्यकाभित्र दैनिक २५ सय मानिस कारबाहीमा पर्ने गरेका छन्। ४२ दिनमा प्रहरीले ९३ हजार मानिसलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ। विभिन्न बहाना बनाएर हिंड्ने मानिसलाई नियन्त्रणमा लिएको हो। '९३ हजार मानिस कारबाहीमा परेका छन्। उनीहरु विभिन्न बहानामा सडकमा निस्किने गरेको पाइयो', डिआइजी पोखरेलले भने।

पछिल्लो समय प्रहरीले विभिन्न जिल्लाबाट जारी भएको सवारी पास समेत हेर्ने गरेको छ। केही मानिसले सवारी पासको दुरुपयोग समेत गर्ने गरेको फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानरी दिए। महाशाखाले दैनिक २ सयभन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै पासको दुरुपयोग गरेर सवारी चलाइएको पनि पाइएको छ। प्रहरीले २१ सयवटा पास जफत गरेको छ। '२१ सय वटा पास दुरुपयोग गरेकोमा जफत गरेका छौं', महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

सवारी पासको दुरुपयोग  बढेकाले गृहमन्त्रालयले सोमबार पास वितरण प्रभावकारी बनाउन सबै जिल्लामा परिपत्र गरेको छ। अब एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि पास जारी गर्नु पर्ने भए जानु पर्ने सम्वन्धित जिल्लासँग पनि समन्वय गरेर पास जारी गर्नु पर्ने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell