
सोमबारदेखि भारतमा लकडाउनको तेस्रो चरण सुरु भएको छ। लकडाउन निरन्तर हुन थालेपछि भारतीय सरकारले विभिन्न क्षेत्रमा छुट पनि दिन थालेको छ। यसै सन्दर्भमा मदिरा पसल पनि खोल्न छुट दिइएको छ।
सोमबारदेखि खुलेका मदिरा पसलहरुमा मानिसहरुको भिड लाग्यो। जसका कारण कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउन प्रभावित बन्यो। मदिरा पसलमा लागेको लामका बारेमा मंगलबार सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म चर्चा भयो।
मानिसहरुको भिड लागेको विषयमा प्रश्न उठेपछि दिल्ली सरकारले नयाँ उपाय निकालेको छ। त्यहाँ मदिराको खरिदमा 'कोरोना शुल्क' भनेर नयाँ शीर्षकमा कर लगाइदिएको हो। प्रचलित मूल्यमा थप ७० प्रतिशत मूल्य बढेको बीबीसी हिन्दीले जनाएको छ।
सोमबार अन्य पसलहरु पनि खुलेका थिए। तर ती पसलमा चहलपहल खासै थिएन। मदिरा पसलमा भने एक/दुई किलोमिटरकै लाइन थियो। केन्द्र सरकारले घरबाट ननिस्कनु भनेपनि मदिरा किन्नका लागि सर्वसाधारण निस्किएका थिए। भिड नियन्त्रणका लागि पनि मूल्य बढाउन आवश्यक भएको भन्दै दिल्ली सरकारले यस्तो निर्णय गरिएको हो।