
काठमाडौं : संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले मंगलवार संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा गौतमलाई सपथ गराएका हुन्।
उनी सोमवार संसदको महासचिवमा नियुक्त भएका थिए। सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी हुन्।
लामाचौर कास्कीका गौतम २०५१ सालमा न्याय सेवाको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए। २०५१ मै गौतम संसद् सेवाको शाखा अधिकृतमा प्रवेश गरेका हुन्।
२०७५ असारमा उनी संसद्को सचिवमा बढुवा भएका थिए। गौतमले प्रशासनिक पुनर्संरचनामा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरेका छन्। सचिवालयमा रहेका उनी वरिष्ठताका आधारमा महासचिवमा सिफारिसमा परेका थिए।
तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सचिव गोपालनाथ योगीले कार्यबाहक महासचिवको जिम्मेवारी पाएका थिए।