PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपालगञ्जका संक्रमितहरुसँग सोधपुछ : १० जनाको 'ट्राभल हिस्ट्री' लिइयो, ६ को जारी, थप ७ कहाँ छन्?



कमलराज भट्ट

नेपालगञ्जका संक्रमितहरुसँग सोधपुछ : १० जनाको 'ट्राभल हिस्ट्री' लिइयो, ६ को जारी, थप ७ कहाँ छन्?

काठमाडौं: कोरोना भाइरस संक्रमणको हटस्पट बनेको बाँकेमा १० जना संक्रमितसँग सोधपुछ (ट्राभल हिस्ट्री बुझ्ने काम) सकिएको छ। आइतवारसम्म देखिएका १६ संक्रमितमध्ये १० जनाको सोधपुछ सकिएको र बाँकी ६ जनाको चलिरहेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बाँकी ६ जनाको यात्रा तथा सम्पर्क विवरण लिन प्रहरी  र स्वास्थ्यकर्मीहरु लागिरहेको बताए। उनका अनुसार भिडियो कन्फ्रेन्स तथा मोबाइल सम्पर्कका माध्यमबाट बाँकी रहेका ६ जनाको सूचना संकलन गर्ने काम भइरहेको छ।

सोधपुछ सकिएका १० संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको उनले जानकारी दिए। 'उनीहरुको कन्ट्याक्ट को को सँग भएको थियो, तिनीहरुलाई खोज्दैछौं,' उनले भने। उनका अनुसार पहिलो संक्रमितकै कन्ट्याक्ट ट्रेसिङ अझै सकिएको छैन। उनी गएको/बसेको ठाउँहरुमा थप  स्वाब संकलनको तयारी भइरहेको छ।

बाँकेमा आइतबारसम्म देखिएका १६ जना संक्रमित ७ र ९ वर्षका बालिकादेखि ६० वर्षका वृद्धसम्म छन्। यिनीहरु सबै पहिलो संक्रमित मदरसाका शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरु हुन्। 

भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाका अनुसार पहिलो संक्रमितको सम्पर्कमा आएका १०५ जनाकै रिपोर्ट आइसकेको छ। आइतवार ६० जनाको आउँदा १५ जनामा संक्रमण देखिएको थियो। आज बाँकी ४५ जनाको रिपोर्ट आउँदा ७ जनामा भाइरस पोजेटिभ देखिएर बाँकेमा संक्रमितको कुल संख्या २३ पुगेको छ।

आज थपिएका ७ संक्रमितसँग सम्पर्कको प्रयास

यसैगरी आज संक्रमण देखिएका ९ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिसँग प्रहरीले सम्पर्कको प्रयास गरिरहेको छ। यो समाचार तयार पार्दासम्म उनीहरुलाई खजुराको कोरोना विशेष सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लान सकिएको छैन।

'उनीहरु बस्ने ठाउँको ट्रेस गरिरहेका छौं। आफ्नो मस्जिद, मदरसा, घरकै क्वारेन्टाइनमा बसिरहेका छन् भन्ने छ। कुन ठाउँमा छ पत्ता लगाएर ल्याउँदैछौं। टोलका अगुवासँग छलफल गर्नुपर्‍यो। कति आउन मान्लान, नमान्लान, समन्वय गर्नुपर्नेछ,' बाँके प्रहरी प्रमुख ओलीले भने, 'एम्बुलेन्सबाट अस्पताल ल्याउँछौं। अस्पतालको आइसोलेसनबाटै अन्तर्वार्ता लिने, भिडियो कन्फ्रेन्स गर्ने हुन्छ। डाटा आउन समय लाग्छ।'

बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले थप संक्रमितलाई ल्याउने प्रकिया सुरु भएको बताए। 'स्वास्थ्यकर्मी टोलीसहित हामी लिन जाँदैछौं। खजुरा अस्पतालको आइसोलेसनमा पुर्‍याउँछौं,' उनले भने। उनका अनुसार त्रिवेणी चोकमा तनाव भएका कारण पनि संक्रमितलाई ल्याउन ढिलाई भएको हो।

बाँके प्रहरी प्रमुख ओलीले अहिले नेपालगञ्जको अवस्था सामान्य रहेको जानकारी दिए। 'यहाँ निषेधित क्षेत्र तोकिएको छ। मानिसहरु घरभित्र छन्। संक्रमण बढेपछि उनीहरुमा जागरण आएको छ। प्रहरी र प्रशासनलाई हेल्प गरिरहेका छन्,' उनले भने।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ र आवतजावत गरेको ठाउँमा तीव्र परीक्षणको रणनीति अख्तियार गरिएको बताए। उनका अनुसार सोमबार प्रदेश ५ का सामाजिक मन्त्री सुदर्शन बरालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा सबै पक्षले थप सतर्कता अपनाउने समझदारी भएको छ।

सुरक्षा निकायले सुरक्षा तथा समन्वयको काम गर्ने, स्वास्थ्यकर्मीले परीक्षण तथा उपचार गर्ने, केन्द्रको टोलीसँग मिलेर द्रुत गतिका कन्ट्याक्ट ट्रेसिङ अघि बढाउने सहमति भएको उपाध्यायले बताए।

अपराह्न ४ बजे प्राप्त सूचनाअनुसार थप ७ संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पुर्‍याइएको छ। उनीहरुलाई आइसोलेसनमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell