टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड 'ग्रुप योरम'का सदस्य इब्राहिम गोसेकले आमरण अनशन तोडेका छन्। ब्यान्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनले ३२३ औं दिनमा अनशन तोडेकोबारे जानकारी दिएको हो। उनले ब्यान्ड, आम स्रोता र दर्शकले गरेको आग्रहको सम्मानमा अनशन तोडेको जनाइएको छ।
उनीहरुको ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु छन्। सबै सदस्य स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा गीत लेख्छन्, गाउँछन्।
टर्कीमा चर्चित यस ब्यान्डका हजारौं दर्शक, श्रोता छन्। तर राज्यस्तरबाट भने उनीहरुको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारिँदै आएको छ। ब्यान्डका सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरेको खबर समेत सार्वजनिक हुन्थे। ब्यान्डको कन्सर्टहरुमा समेत बाधा पुर्याउने काम हुँदै आएको छ।
राज्यको यस्तै हर्कतकोविरुद्ध हो इब्राहिम अनशन बसेका। उनी ब्यान्डमाथिको राजनीतिक एवं सामाजिक प्रतिबन्ध फुकुवा गर्ने मागसहित अनशनमा थिए।
'सत्यबारे गाउन पाउने अधिकारका लागि' भन्दै उनीसँगै अनशनरत् थिइन् ब्यान्डकी सदस्य हेलिन बोलेक। उनको गत अप्रिल ३ मा निधन भयो। उनले २ सय ८८ औं दिनसम्म अनशन जारी राखेकी थिइन्।
इब्राहिमको स्वास्थ्यमा पनि केही समययता समस्या देखिन थालेको थियो। यसैबीच उनले अनशन तोडेका हुन्।
'हाम्रो प्रतिरोधले राजनीतिक विजय हासिल गरेको छ। हाम्रो आवाज दूनियाँले सुनेको छ। आशा गरौं हाम्रा मागहरुको सही सुनुवाइ हुनेछ', विज्ञप्तिमा भनिएको छ।
ब्यान्ड आजै कन्सर्ट गर्न पाउनु पर्ने मागसहित इस्तानबुलस्थित गभर्नरको कार्यालय जाँदैछ।
आजै बिहान इब्राहिमको घर बाहिर कलाकार, सांसद एवं विभिन्न अधिकारका लागि काम गर्ने संस्थाका प्रतिनिधिहरुले ब्यान्डको पक्षमा बोलेका थिए। त्यहाँ आयोजित प्रेस सम्मेलनमा उनले अनशन तोडेको घोषणा भयो।
उनीहरुका स्रोता एवं सामाजिक सञ्जाल प्रयोगकर्ता अनशन तोडिनुलाई लिएर खुशी छन्। भनेका छन्,'आम मानिसको कुरा सुनिदिएकोमा धन्यवाद। इब्राहिम, ब्यान्ड र उनको परिवारको लागि हामी खुशी छौं।'
टर्कीका मानव अधिकार आयोगका प्रमुख सेबनेम कोरुर फिन्काकीले भने,'उहाँहरुको माग हाम्रो माग हो। त्यसैले उहाँहरुले स्वतन्त्र रहेर गीत गाउन पाउनुपर्ने पक्षमा उभिएका छौं। यस संघर्षमा ब्यान्डको साथमा रहनेछौं।' उनले इब्राहिमले अनशन तोड्नुलाई 'जीवनले जित्नु'को संज्ञा दिए।
बायानेटले जनाए अनुसार इब्राहिमको परिवारले साथ र सहयोगका लागि सबैलाई धन्यवाद व्यक्त गरेको छ। जारी विज्ञप्तिका अनुसार स्वास्थ्यमा खराबी देखिएका इब्राहिमलाई अस्पताल पुर्याइएको छ।
Siyasi zaferi kazandık, ölüm orucu direnişimize ara veriyoruz.
— Grup Yorum Direniş Evi (@EviGrup) May 5, 2020
Zafere dair açıklamamızdır. pic.twitter.com/Bo06TbKVDY