PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

रक्सी पिउँदा कोरोनाको जोखिम बढाउने स्वास्थ्यकर्मीको चेतावनी, अल्कोहलले भाइरस मार्दैन: डाक्टर देवकोटा



पहिलोपोस्ट

रक्सी पिउँदा कोरोनाको जोखिम बढाउने स्वास्थ्यकर्मीको चेतावनी, अल्कोहलले भाइरस मार्दैन: डाक्टर देवकोटा

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले मदिरा सेवन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

तराईमा कोरोना भाइरस मार्ने भन्दै घरेलु मदिरा पिउँदा स्थानीयको मृत्यु भएको खबरहरु आइरहेका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रक्सीले संक्रमणको जोखिम बढाउने बताए। मंगलवारको नियमित प्रेस ब्रिफिङमा डाक्टर देवकोटाले भने, 'अल्कोहलको सेवन भइराख्यो भने हाम्रो शरीरमा रोगसँग लड्ने शक्तिमा कमी आउन सक्छ। हामी अन्य रोगबाट प्रभावित हुन सक्छौं र कोरोना संक्रमणको जोखिममा पर्छौं।'

डाक्टर देवकोटाले मदिराले कोरोना भाइरस मार्ने कुरा गलत भएको बताए। 'मदिराले कोरोनालाई मार्ने कुरै भएन। मानिसमा छर्केर र सेवन गरेर कोरोना नियन्त्रण हुँदैन। यो दुबै हिसाबले हल्कोहलको प्रयोग हानिकारक छ,' उनले भने।

मदिरा सेवनबारे डाक्टर देवकोटाको सुझाव:

अल्कोहल सेवनले फाइदा होइन हानी गर्छ। कोरोनालाई मार्ने कुरै भएन। मानिसमा छर्केर र सेवन गरेर कोरोना नियन्त्रण हुँदैन। यो दुबै हिसाबले हल्कोहलको प्रयोग हानिकारक छ।

हामी लकडाउनको स्थितिमा छौं। एक्लै बस्दा मदिरा सेवन गर्दा थप बानी पर्ने सम्भावना रहन्छ। नखानेले पनि खान सुरु गर्छ। यो गलत हो। बरु घरमा रहँदा यसको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गरौं।

घरमा बसिरहँदा अल्कोहलको प्रयोग धेरै गर्न सक्छौं। धेरै प्रयोगले हाम्रो शरीरमा अझ हानी गर्छ। कलेजो र शरीरका अन्य अंगमा असर गर्छ। हामी जटिल रोगमा पुग्न सकछौं। र मृत्यु पनि हुनसक्छ।

अल्कोहलको सेवनले हाम्रो दिमागका नराम्रा कुरा आउँछन्। अनैतिक घटना हुने, मानसिक समस्या हुने, मनोत्रास हुने र सुसाइड गर्ने सम्मको स्थिति आउन सक्छ। त्यसकारण अल्कोहल सेवन स्वास्थ्यका लागि हानिकारक छ।

अल्कोहल सेवनले मानिसहरु विरामी पर्न सक्छन्। विरामी पर्‍यो भने अस्पताल जानुपर्‍यो। अहिले कोभिड १९ को बेला अस्पताल जान त्यति उपयुक्त छैन। हामी जो सही हिसाबले घरमा बसिरहेका छौं। संक्रमित छैनौं। सम्भावित संक्रमित छैनौं। अल्कोहलले सामान्य मानिस पनि अस्पतालसम्म पुग्नुपर्ने अवस्था आउनसक्छ।

त्यसैगरी कोरोनाको समयमा अल्कोहलको सेवन भइराख्यो भने हाम्रो शरीरमा रोगसँग लड्ने शक्तिमा कमी आउन सक्छ। हामी अन्य रोगबाट प्रभावित हुन सक्छौं। त्यसले गर्दा कोरोना संक्रमणको जोखिम समूहमा पर्छौं। यसकारण अल्कोहल सेवन गरेर जोखिममा नपर्न स्वास्थ्य मन्त्रालय अनुरोध गर्न चाहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell