PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तीन दिन निषेधाज्ञामा के हुन्छ? यस्तो छ नेपालगञ्जका मेयर राणाको संक्रमण नियन्त्रण रणनीति



प्रकाश भण्डारी

तीन दिन निषेधाज्ञामा के हुन्छ? यस्तो छ नेपालगञ्जका मेयर राणाको संक्रमण नियन्त्रण रणनीति

काठमाडौं : २३ जना कोरोना संक्रमित भेटिएपछि सोमवारदेखि तीन दिनका लागि निषेधाज्ञा छ, नेपालगञ्ज उप-महानगरमा। नगरलाई मुख्य चुनौती छ संक्रमण रोक्नु। संक्रमणको फैलावटलाई रोकेर संक्रमितको चाँडो पहिचान गर्ने रणनीति बनाएको छ, उप-महानगरले।

ट्रेसिङ, टेस्ट र आवतजावतमा रोकावटको उपायबाट संक्रमण रोक्ने रणनीति रहेको मेयर डाक्टर धवल शम्शेर राणाले बताए। मुख्यगरी निषेधाज्ञाको पालना, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्ने योजना रहेको राणाले जानकारी दिए।

सक्दो धेरै परीक्षण

निषेधाज्ञा जारी गर्नुको उद्देश्य नै परीक्षण बढाउनु भएको मेयर राणाको तर्क छ। संक्रमण रोक्न भएभरका उपाय लगाइने उनले बताए। 'हामीलाई मात्रै होइन संसारलाई नै चुनौती छ। तर आत्तिनु पर्दैन, हामी भएभरको शक्ति प्रयोग गरेर संक्रमण रोक्छौं,' उनले भने।

उनले तीन दिनको निषेधाज्ञामा बढीभन्दा बढी परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा निषेधाज्ञा बढाउने वा हटाउने भन्ने रणनीति तयार हुने बताए।

'हामी यो तीन दिनमा धेरैभन्दा धेरैको परीक्षण गर्छौं। संक्रमित थपिए फेरि निषेधाज्ञा थप्छौं,' उनले भने, 'जनजीवन ठप्प पारेर स्वास्थ्यकर्मी परिचालन गर्ने हो। जनतालाई केही दिन पुग्ने सामान किन्नुस् भनिसकेका छौं।'

संक्रमण रोकथामका लागि प्रदेश र संघसँग समन्वयको अभाव नभएको उनको भनाई छ। 'संघीय सरकारसँग पनि नियमित सम्पर्कमा छौं। प्रशासनबाट पनि राम्रो सहयोग छ। त्यस्तो कुनै चुनौती देखिएको छैन,' उनले भने।

द्रुत कन्ट्याक्ट ट्रेसिङ

संक्रमित बढ्न थालेपछि नगरको अर्को रणनीति हो द्रुत कन्ट्याक्ट ट्रेसिङ। संक्रमित देखिएको ठाँउमा चाहिने जति जनशक्ति परिचालन गरेर द्रुत ट्रेसिङको काम भइरहेको उनले बताए। १० जना संक्रमितलाई सोधपुछ गरी ट्राभल हिस्ट्री निकालिएको छ।

'हामीले ट्रेसिङमात्रै होइन द्रुत ट्रेसिङ कसरी गर्न सकिन्छ भनेर लागेका छौं। त्यसका लागि आवश्यक जनशक्ति परिचालित छ। अब अरु ७ जनाको पनि तत्कालै पत्ता लगाइहाल्छौं,' राणाले भने।

नाका सिल, लुकेर आउनेको खोजी

लकडाउपछि नेपालका छिमेकी देशसँग जोडिएका नाका बन्द छ। तर, अवैध बाटो हुँदै नेपाल प्रवेश गर्नेको कमी छैन। नेपालगञ्जबाट नजिक छ रुपडिया नाका। मेयर राणाले नाका सिल गरिएकाले लुकिछिपी आउनेको खोजी भइरहेको बताए। लकडाउनको सुरुमा धेरै मानिसहरु अवैध बाटो हुँदै नेपालगञ्ज प्रवेश गरेको रिपोर्ट आएको उनले सुनाए। तर, नाका क्षेत्रमा कडाइ गरिएपछि भारतबाट नेपालगञ्जमा कोही आउन नसकेको उनको दाबी छ।

'सुरुका दिनमा त लुकिछिपी मान्छेहरु नेपालगञ्जमा नआएको होइनन्। तर, नाकामा कडाई गरिएपछि आएको भन्ने हाम्रो जानकारीमा छैन। आएको भन्ने खबर पाएमा तत्कालै क्वारेन्टाइनमा राख्नेदेखि परीक्षणसम्म गरिरहेका छौं,' उनले भने।

मेयर राणाले अबको योजना कसरी संक्रमण मुक्त बनाउने भन्नेमात्र रहेको बताए। उप-महानगरको सम्पूर्ण ध्यान नै कोरोनामा केन्द्रित भएको उनको दावी छ।

संक्रमित क्षेत्रमा पीसीआरबाट मात्रै परीक्षण

तीन दिनको निषेधाज्ञामा बढीभन्दा बढी कोरोना परीक्षण गर्ने रणनीतिमा छ महानगर। तर, परीक्षणका लागि चाहिने पीसीआर किट भने जुटाउन सजिलो छैन। सोमवार बिहानसम्म नगरका १०५ जनाको कोरोना परीक्षण भएको छ। अहिले भेरी अन्चल अस्पतालका ल्याबमा ३ सय २० वटा मात्रै पीसीआर किट (आरएनए एक्स्ट्र्याक्सन किट) छ। संघीय सरकारले आइतवार २ सय ५० वटामात्रै किट पठाएको थियो। उपमहानगरले हजार भन्दा बढी किटको माग गरेको छ। संक्रमित क्षेत्रमा र्‍यापिड डाइग्नोसिस टेष्ट (आरडीटी) बन्द गरिएको छ। नगरका अरु क्षेत्रमा आरडीटी प्रयोग गरिने भए पनि संक्रमित भेटिएको क्षेत्रमा भने पीसीआर परीक्षण गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell