PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

कसले छर्किँदैछ मान्छेमा डिस्इन्फेक्टेन्ट्? विज्ञ भन्छन् : भाइरस मार्दैन, स्वास्थ्यका लागि हानिकारक



प्रकाश भण्डारी

कसले छर्किँदैछ मान्छेमा डिस्इन्फेक्टेन्ट्? विज्ञ भन्छन् : भाइरस मार्दैन, स्वास्थ्यका लागि हानिकारक

काठमाडौं: सामाजिक सञ्जालमा केही भिडियो र फोटो हिट् छन्। भिडियोमा देखिन्छ, पीपीई लगाएका व्यक्तिले पिठ्युमा डिस्इन्फेक्टेन्ट्को सिलिण्डर बोकेका छन्। उनीहरु दायाँबाया उभिएर बाटोमा आउने मान्छेलाई डिस्इन्फेक्टेन्ट् स्प्रे गर्दैछन्। एउटा बालिका र महिलालाई उनीहरु केमिकल छर्कँदैछन्। महिलाको मुखमा मास्क भए पनि बालिकाको मुख खुला देखिन्छ। सँगै उभिएका अरु मानिसहरु आँखा चिम्म गर्न लगाउँछन्। अनि छर्किन्छन् डिस्इन्फेक्टेन्ट्।

भिडियो न्यूरोड क्षेत्रको हो। फोटो पत्रकार पूर्णिमा श्रेष्ठले वैशाख २१ गते ट्वीटरमा भिडियो अपलोड गरेकी हुन्। न्यरोड क्षेत्रमा भिडियो खिचिएको हो।डाक्टर अभिषेक सिंहले पनि वैशाख २१ गते नै केही फोटो अप्लोड गरेका छन्। फोटोमा नाबालक र महिलाहरुलाई डिस्इन्फेक्टेन्ट् गरिँदै छ। सिंहले भिडियो पनि राखेका छन्। भिडियो न्यूरोडको भएको जानकारी पनि राखिएको छ।

यस्तै एउटा अर्को घटना पनि सामाजिक सन्जालमा छाइरहेको छ। अनमोल फ्यासिलिटी क्लिनर्सले आफ्नो फेसबुक पेजमा फोटो र भिडियो राखेको छ। फोटोमा प्रहरी लहरै उभिएका छन्। उनीहरुलाई पनि डिस्इन्फेक्टेन्ट् गरिँदै छ। क्लिनर्सले स्यानिटाइजर छर्केको पोष्टमा उल्लेख छ। 'कालिमाटी, बल्खु, त्रिपुरेश्वर, माइतीघर र बालाजु लगायतका क्षेत्रमा भाइरस निवारणका लागि स्यानिटाइजर छर्किएको छ,' पोष्टमा लेखिएको छ।

अनमाेल फ्यासिलिटी क्लिनर्सले १६- १ ८ दिन देखि काठमाडौंको अति व्यस्त रहने विभिन्न स्थानमा कोरोना जीवाणुको संक्रमण रोक्न...

Posted by Anamol Facility Cleaners Pvt Ltd on Friday, May 1, 2020

क्लिनर्सले भिडियो पनि राखेको छ। भिडियोमा केहीँ पत्रकारलाई पनि डिस्इन्फेक्टेन्ट् गरिएको छ। त्यसमा ऋषि धमला पनि देखिन्छन्।

अनमाेल फ्यासिलिटी क्लिनर्सले १६- १ ८ दिन देखि काठमाडौंको अति व्यस्त रहने विभिन्न स्थानमा कोरोना जीवाणुको संक्रमण रोक्न...

Posted by Anamol Facility Cleaners Pvt Ltd on Friday, May 1, 2020

अहिले कतिपय ठाउँमा सवारी साधनलाई समेत स्प्रे गरेर डिस्इन्फेक्टेन्ट् गर्न थालिएको छ।

वैशाख १९ गतेदेखि नागढुंगामा स्प्रे टनेल राखिएको थियो भने यसअघि नै भक्तपुरमा सवारी साधनमा स्प्रे गर्न थालिएको थियो। नागढुंगामा राखिएको स्प्रे टनेलले काठमाडौं प्रवेश गर्ने सवारीलाई डिस्इन्फेक्टेन्ट् गर्ने काम भइरहेको छ।

मान्छेलाई डिस्इन्फेक्टेन्ट् गर्नु गलत : डाक्टर

कोरोना रोकथामका लागि मान्छेलाई स्प्रे गर्नुपर्ने खालको मापदण्ड सरकारले नबनाएको चिकित्सक बताउँछन्। उनीहरु विश्व स्वास्थ्य संगठनको गाइडलाइनमा पनि यस्तो ब्यवस्था नभएको दाबी गर्छन्। तर पछिल्ला दिनमा कोरोनाको संक्रमण रोक्न भन्दै सवारी साधन तथा मानिसलाई स्प्रे गर्नु अफवाह भएको उनीहरुको तर्क छ।

टेकु अस्पतालका एक चिकित्सकले कसले किन यसरी स्प्रे गरिरहेको छ भन्ने थाहा नभएको बताए। सरकार तथा कुनै पनि संघ संस्थाले नभनेकाले अफवाह भएको उनी बताउँछन्।

'के केमिकल छरिएको हो? किन छर्ने? अहिले त हामी कोरोना महामारीमा छौं। मान्छेमाथि नै कमेकिल छर्कनु गलत हो। कहि कतै कसैले पनि डिस्इन्फेक्टेन्ट् गर्नु भनेको छैन। न त यसले कोरोना रोकथाम हुन्छ,' उनले भने।

सवारी साधन तथा मान्छेमा डिसइन्फेक्सन गर्नु स्रोतको दुरुपयोग भएको उनको तर्क छ। 'गाडीको टायरमा बाहिर भागमा छर्किएको देखिन्छ। त्यसरी कोरोना भाइरस रोकिँदैन,' उनले भने।

मान्छेमा छर्किएको रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले तत्कालै रोक्नुपर्ने चिकित्सक बताउँछन्।

टनेल बनाएर गाडीमा केमिकल छर्कन लगाउनु सरासर गलत भएको ती डाक्टर बताउँछन्। कोरोना रोकथामका लागि सबैभन्दा उत्तम उपाय मास्क लाउने र हात धुने भए पनि अफवाह फैलाएर मान्छेमाथि नै स्प्रे गर्नु जनस्वास्थ्यमाथि खेलबाड भएको उनले बताए।

शरीरमा किटनाशक झोल छर्कनु हानिकारक: मन्त्रालय

किटनाशक झोल स्प्रे गरेर मानिसलाई नै डिस्इन्फेक्टेन्ट् गरेका फोटो र भिडियोहरु भाइरल भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले किटनाशक झोल छर्कनु हानिकारक भएको बताए। यस्ता झोल छर्किन कहिकतै निर्देशन नदिइएको उनको भनाई छ।

देवकोटाले मानव शरीरमा भाइरस प्रवेश गरिसकेमा किटनाशक रसायनले मार्न नसक्ने बताए। 'धेरैजसो ठाउँमा क्लोरिन झोल छर्किएको देखिन्छ। यसले शरीरभित्र प्रवेश गरेको भाइरसलाई मार्न सक्दैन,' उनले भने।

किटनाशक झोलले मानव शरीरमा नकारात्मक असर गर्ने देवकोटाले बताए। नाक, कान, घाटी तथा छालमा झोलले असर गर्ने भएकाले कसैले पनि मानिसलाई नै डिस्इन्फेक्टेन्ट्को काम नगर्न उनले निर्देशन दिए। तर भुई भिता र सतह लगायतका क्षेत्र भने निश्चित मापदण्ड पुरा गरेर डिसइन्फेक्ट गर्न सकिने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell