PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

के प्रचण्डसँगको सहमतिबाट यू-टर्न भएका हुन् प्रधानमन्त्री ओली?



कुञ्जरमणि भट्टराई

के प्रचण्डसँगको सहमतिबाट यू-टर्न भएका हुन् प्रधानमन्त्री ओली?
फाइल फोटो

शनिबार नेकपा सचिवालय बैठकले पार्टी विभाजनसम्बन्धी कुनै पनि गतिविधिमा नलाग्ने सदस्यहरूलाई निर्देशन दियो। बैठकमा पछिल्ला केही समयमा भएका गतिविधिप्रति अध्यक्षद्वयले आत्मालोचना पनि गरे। प्रधानमन्त्री सरकार र पार्टी सञ्चालन परामर्शमा अघि बढाउन राजी भए।

तर, आत्मालोचना गर्ने शीर्ष नेताहरू नै सहमतिको मसी सुक्न नपाउँदै गुटगत भेलामा लिप्त भए। सचिवालय बैठकमा एकाएक यु–टर्न भएका प्रचण्डलाई भेट्न आइतबारदेखि नै वरिष्ठ नेता माधव नेपाल सक्रिय भए। लगत्तै आफू निकट स्थायी समिति र केन्द्रीय सदस्यसँग पनि भेट गरे। यसबीचमा प्रधानमन्त्री ओलीले पनि प्रचण्ड, नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरे।

प्रचण्डले नेपाल समूहसँग प्रधानमन्त्रीले आफूसँग गरेको प्रतिबद्धताको सूचना दिए। प्रधानमन्त्रीसँगको भेटमा समझदारी अनुसार अघि बढ्न दबाब दिइरहेका छन्।

दुवै गुटका नेताहरू एक अर्कासँग भेटसँगै आन्तरिक रणनीतिमा पनि व्यस्त छन्। विशेषगरि सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले गरेको प्रतिबद्धता अनुसार सचिवालय र स्थायी समितिमा एजेन्डा बनाउने तयारीमा प्रचण्ड नेपाल समूह छ। तर, ओलीले उक्त सहमतिलाई स्थायी समितिमा लैजान आवश्यक नरहेको भन्दै रोक्ने प्रयत्नमा छन्।

नेकपा सचिवालय स्रोतका अनुसार ओलीले सचिवालय बैठकअघि आन्तरिक विवाद व्यवस्थापनका लागि मंसिर ४ गतेको सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन्। यस्तै, मन्त्रिमण्डल हेरफेर गरी नेपाल पक्षका केही नेता समावेश गर्न र प्रदेशका मुख्यमन्त्री हेरफेरमा पनि सकारात्मक छन्। संवैधानिक निकाय लगायतका सिफारिसमा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता ओलीले जनाएका छन्।

तर, सहमति लगत्तै प्रधानमन्त्री ओलीले उक्त विषयलाई कार्यान्वयन गर्न चासो नदेखाएको प्रचण्ड–नेपाल समूहको आरोप छ। विगतमा पनि प्रधानमन्त्री ओलीले समझदारी कार्यान्वयन नगरेकाले यो पटक पनि विश्वस्त हुने आधार नदेखेको सचिवालयका एक सदस्यको भनाई छ।

‘प्रधानमन्त्रीजीले विगतमा पनि पटक–पटक सहमति गर्ने र कार्यान्वयन नगर्ने गर्नुभयो। पटक-पटक शंकाको सुविधा अध्यक्ष प्रचण्डलगायतले दिनुभएकै हो। यो पटक पनि उहाँ सहमतिलाई अघि बढाउन आनाकानी गरिरहनुभएको छ। यदि त्यस्तो भएमा यहाँविरुद्ध स्थायी समितिमा विकल्पको खोजी हुन सक्छ’ ती सदस्यले भने।

के हो विवाद?

ओलीसँगको समझदारीलाई स्थायी समितिमा एजेन्डा बनाउने पक्षमा प्रचण्ड नेपाल समूह छ। स्थायी समितिमा अध्यक्षले पेस गर्ने प्रतिवेदनमा पछिल्लो घटनाक्रममा रूपमा त्यसलाई लिपिबद्ध गर्ने अध्यक्ष प्रचण्डको तयारी छ। सोही अनुसार प्रचण्डले आफू निकट नेताहरूसँग सोमबार बिहान सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ निवासमा छलफल पनि गरेका छन्। तर, आफूसँगको समझदारी स्थायी समितिमा पेस गर्न रोक्ने तयारीमा प्रधानमन्त्री ओली रहेको प्रचण्ड निकटहरूको दाबी छ।

प्रचण्ड निकट एक नेताले भने, ‘समझदारी दुई अध्यक्षको बीचमा भएकै हुँदा स्थायी समितिमा जानकारी दिँदा के फरक पर्छ? तर, प्रधानमन्त्रीले चाहिरहनु भएको छैन। समझदारी भएपछि पार्टी सदस्यलाई जानकारी दिन नहुने भन्ने पनि हुन्छ? यहाँनिर प्रधानमन्त्री समझदारीप्रति इमानदार हुनुहुन्न भन्ने हामीलाई लागेको हो।’

ओलीले आनाकानी गरिरहँदा प्रचण्ड र नेपाल पक्ष भने उक्त सहमतिलाई स्थायी समितिमा जानकारीका लागि लैजाने पक्षमा छ। आफू निकटका स्थायी समिति सदस्यहरूको भेलामा उक्त समूहले स्थायी समितिका अबका एजेन्डा र तयारीबारे पनि जानकारी गराइसकेको छ। स्थायी समितिमा सरकारका काम कारबाहीबारे समीक्षा गर्दै प्रधानमन्त्रीको विकल्प खोज्नेसम्मका चर्चा नेकपा वृत्तमा अहिले पनि सेलाएका छैनन्। क्षणिक रूपमा पार्टी विवाद भने केही अन्त्य भएको छ।

घटनाक्रम समीक्षा

सचिवालय बैठकपछि नेपाल पक्ष र पूर्व माओवादी दुवैले पछिल्लो घटनाक्रमबारे समीक्षा गरेका छन्। जसमा सुरुमा नेपाल समूहले प्रचण्डसँग विगतको रणनीतिबाट पछि हटे वा नहटेको कुरा स्पष्ट पार्न भनेको थियो। प्रचण्डले सचिवालय बैठकमा अल्पमतमा परेका स्थायी समिति बैठक तोक्नलाई उपलब्धिका रूपमा नेपाल समूहलाई बिफ्रिङ गरेका थिए। भने, स्थायी समितिमा वृहत् छलफलको वातावरण बनाउने आश्वासन दिएका थिए। विगतका सम्झौताबाट पछि नहटेको पनि प्रचण्डको भनाई थियो।

पूर्व माओवादीमा भने प्रधानमन्त्री ओलीले प्रचण्डसँगको सहमतिमा धोका दिने आकलन भएको छ। मंसिर ४ गते प्रधानमन्त्री र अध्यक्षको कार्य विभाजन भए पनि पालना नभएको अवस्थामा सोसहित थप भएका प्रतिबद्धताको भर नभएको उक्त समूहको बुझाइ छ। जसकारण उक्त समूह पनि स्थायी समितिमा प्रधानमन्त्रीविरुद्ध आक्रामक हुने तयारीमा छ।

दुवै समूहले उपाध्यक्ष बामदेव गौतमले भने धोका दिएको निष्कर्ष निकालेको छ। गौतमलाई बिहान एउटा र बेलुका अर्को समूहमा पुग्ने भर नभएको अस्थिर नेताका रूपमा प्रचण्ड–नेपाल समूहले चित्रण गरेको छ।

प्रचण्ड नेपाल समूह प्रधानमन्त्रीविरुद्ध स्थायी समितिमा बलियो रूपमा उपस्थित हुने रणनीति बनाइरहेका बेला नेकपाको राजनीतिमा पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको चासो बढेको नेकपा स्रोतको दाबी छ। मंगलबार भण्डारीले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड निकट दुई नेतासँग भेट गरेकी छिन्। भण्डारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उर्जामन्त्री वर्षमान पुनसँग भेट गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell