काठमाडौं : केही दिनयता काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ। कडाइ यस अर्थमा कि नाकाबाट अत्यावश्यक सवारी साधन र मानिसवाहेक अन्यलाई छिर्न दिइएको छैन। विभिन्न जिल्लाले जारी गरेका पास लिएर काठमाडौं छिर्नेलाई समेत रोक लगाइएको छ।
तर, मालबाहक ट्रक र अन्य ढुवानीका सवारी साधन भने निर्वाधरुपमा प्रवेश गरिरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ५/६ सय सवारी ढुवानीका सामाग्री बोकेका ट्रक आउने गरेका छन्। अहिले दैनिक ८ सयको हाराहारीमा सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेश गर्छन्। सबैभन्दा धेरै नागढुंगा नाकाबाट प्रवेश गर्ने गरेका छन्।
'अत्यावश्यक सवारीका साधनमात्र आउँछन्। दैनिक ८ सयको हाराहारीमा सवारी भित्रिने गरेका छन्,' महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
यसरी आएका सवारी साधनमा दैनिक २५ सय मानिस भित्रिने गरेका छन्। ढुवानीका सवारी साधनमा चालक, दुई सहचालकसम्म हुने गरेका छन्। दुई पाङ्ग्रे सवारीमा पनि मानिस आउने गरेका छन्। उनीहरुको विवरण प्रहरीले टिप्ने गर्छ। तर, उनीहरु कहाँ जान्छन्? कहिले फर्किन्छन्? भन्ने कुनै जानकरी हुँदैन। उनीहरुबाट कोरोनाको संक्रमण नहोला भन्न सक्ने अवस्था छैन।
त्यस्तै, काठमाडौंबाट बाहिरिने मानिसको सङ्ख्या पनि उतिकै छ। प्रहरीको अनुसार अत्यआश्यक सवारीमा आएका मानिस नै फर्किने गरेको बताउँछन्।
'उनीहरु सामान लिन वा पुर्याउन आउँछन्। तिनै मानिस फर्किने हो। त्यसैले आउने र जानेको सङ्ख्या उस्तै छ,' एसएसपी ढकालले भने।