PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

५ वर्षीय बालक 'लम्बोर्गिनी' किन्न पारिवारिक कार लिएर निस्कँदा...



पहिलोपोस्ट

५ वर्षीय बालक 'लम्बोर्गिनी' किन्न पारिवारिक कार लिएर निस्कँदा...
Scott G Winterton, Deseret News

अमेरिकाको युटह राज्यमा एक रोचक घटना घट्यो। पाँच वर्षीय बालक एड्रियन आफ्नो पारिवारिक कार लिएर निस्किए। क्यालिफोर्नीयातर्फ हिँडेको बताउने उनलाई प्रहरीले पक्राउ गर्‍यो।

लेन मिच्दै अघि बढेका उनलाई गस्तीमा रहेका प्रहरीले देखेर रोक्न निर्देशन दिएका थिए। चालक रहेका एड्रियनले गाडी रोके। सुरुमा त प्रहरीले गाडीभित्र चालक सिटमा बालक देख्दा छक्क परेको ट्वीटमा जनाएका छन्। त्यसपछि उनले सोधे,'तिमी भर्खर पाँच वर्षको भयौ? कता हिँडेको।' 

बालकले आफू 'लम्बोर्गिनी' किन्न हिँडेको बताए। उनले आफ्नी आमासँग गाडी किनिदिन राखेको प्रस्ताव अस्वीकार गरेपछि आफू स्वयं निस्किएको समेत बताए।

'उसले आफै गाडी लिएर क्यालिफोर्निया पुग्ने र आफ्नो लागि कम मूल्यको लम्बोर्गिनी किन्ने योजना बनाएको रहेछ,' प्रहरीले भनेका छन्, 'तर उसँग ३ डलर मात्र थियो।'

उनले आफूलाई गाडी किन्नका लागि १ लाख ८० हजार डलर चाहिने बताएका थिए।

युटहको राजमार्गमा खटिएका प्रहरीले ट्वीटमार्फत् यस घटनाबारे बताएका छन्। सार्वजनिक भिडियो फुटेजमा देखिन्छ ती बालक पेडल भेट्नका लागि सिटको छेउमा बसेका छन्। त्यसरी नै उनले ओग्डेनस्थित घरबाट ५ मिनेटसम्म गाडी हाँके। 

घटनामा कसैलाई कुनै हानी भएको छैन। तर, एड्रियनका अभिभावकविरुद्ध उजुरी दर्ता गर्ने कि, नगर्ने? भन्ने विषयमा छलफल भइरहेको छ। सोधपुछमा उनी घरबाट निस्कँदा आमाबुबा दुवैजना काममा गएका खुलेको छ। घरमा उनीसँगै अन्य बालबालिका पनि थिए। प्रहरीले बालबालिकाले भेट्ने ठाउँमा गाडीको चाबी नराख्न समेत सुझाव दिएको छ।  

घटनाबारे थाहा पाएपछि एक स्थानीयले एड्रियनलाई आफ्नो लम्बोर्गिनी कारमा सफर गराए। डेसेरेट न्यूजमा उनले आफ्नो 'ड्रिम कार' चढेर रमाएकोबारे सामाग्री प्रकाशित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell