PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

काठमाडौं महानगरपालिकामा पुग्यो नाकाबाट मानिस भित्रिएको गुनासो, निरीक्षणमा निस्किइन् उपप्रमुख हरिप्रभा खड्गी

काठमाडौं महानगरपालिकामा पुग्यो नाकाबाट मानिस भित्रिएको गुनासो, निरीक्षणमा निस्किइन् उपप्रमुख हरिप्रभा खड्गी

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं : 'तराईको जिल्लाबाट मानिसहरु आएका छन्। उनीहरुको परीक्षण नगरी हामी घरमा राख्न सक्दैनौं', केही दिन अघि काठमाडौं महानगरपालिकामा खबर आयो।

काठमाडौं महानगरपालिकाको चमतीमा बस्दै आएका चारजना लकडाउनका कारण तराई फर्किएका थिए। उनीहरु त्यहाँबाट भारत जाने तयारीमा थिए। तर उनीहरु जान पाएनन्। उनीहरु काठमाडौं नै फर्किए र चमतीस्थित बहाल बस्दै गरेको घरमा पुगे। यो बेला प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो। त्यसैले घरबेटीले कोरोनाको परीक्षण नगरी नहुने र क्वारेन्टाइनमा राख्नु पर्ने भन्दै उनीहरुलाई घरमा प्रवेश गर्न दिएनन्।

लकडाउनबीच केही व्यक्ति तराईबाट काठमाडौं फर्किएको र घरबेटीले परीक्षण गरिमात्रै प्रवेश गर्न दिने अडान लिएको कुरा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ कहाँ पुग्यो। लगत्तै महानगर एक्सनमा उत्रियो र उनीहरुलाई परीक्षण गरायो। सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बल्ल घरबेटीले उनीहरुलाई घरभित्र प्रवेश गर्न दिए।

लकडाउनको अवधि बढ्दै गएको र काठमाडौंमा कोरोनाको कुनैपनि 'एक्टिभ केस' नहुँदा काठमाडौं फर्किरहनेहरु बढ्दै गएको खबरहरु सार्वजनिक भएका छन्। अधिकांश मानिस चन्द्रगिरी नगरपालिका अन्तर्गत नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गरेको र त्यहाँबाट काठमाडौं महानगरपालिका र अन्य नगरपालिका जाने गरेको पाइएको छ।  

'नागढुंगाबाट धेरै मान्‍छे सहजै काठमाडौं प्रवेश गरिरहेका छन् केही गर्नुपर्‍यो। हामी यसरी आएकाहरुलाई घरभित्र राख्दैनौं' दैनिक जसो यस्तै गुनासो लिएर काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई फोन आइरहेका छन्।

यसरी जनगुनासो बढ्दै जाँदा महानगर प्रमुख र उपप्रमुखले बाहिरबाट आउने क्रम बढिरहेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। बाहिर जिल्लाबाट मात्र आउने नभइ काठमाडौंबाट फर्किनेहरुलाई पनि रोक्न पर्ने माग उनीहरुले गरेका छन्। उपत्यका नगर फोरमले समेत सरकारलाई नाकाबाट मानिसकोआवतजावत बढेको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ।

यसैबीच बधुवार बिहानै काठमाडौं महानगरकी उपप्रमुख खड्गी नागढुंगा नाका निरीक्षण गर्न पुगिन्।त्यहाँ पुगेर उनले काठमाडौं प्रवेश गर्ने मानिस र गाडीहरुको बारेमा जानकारी लिइन्। त्यहाँ खटिएका प्रहरी अधिकारीहरुले मालवाहक गाडी र अत्यावश्यक काममा निस्किएहरुलाई बाहेक प्रवेश नदिइएको बताए।

'धेरैजसो मानिस मालवाहक गाडीमा बसेर आउने गरेको भनेर गुनासो छ। त्यसैले गाडी भित्र पनि पत्रमात्र नभइ गाडी भित्र समेत चेकजाँच गर्नुपर्छ', खड्गीले भनिन्।

पास भएका र अत्यावश्यक काम बिना नै काठमाडौं आउनेहरुलाई प्रवेश गर्न नदिन उनले आग्रह समेत गरिन्।

'यहाँबाट धेरै मानिस भित्रिए भनेर नागरिहरुले गुनासो गरिरहेका छन्। प्रहरीले नाकामा कडाई गर्नुपर्यो।' उनले भनिन्।

निरीक्षणका क्रममा बिना काठमाडौं प्रवेश गर्न खोज्ने गाडीहरुलाई फर्काइएको थियो। नागढुंगापछि खड्गी धादिङको खत्रीपौवासम्म पुगेकी थिइन्।

यसो भनिरहँदा उनी आफ्नै गएर मालवाहक गाडीको जाँच गरिन्। मास्क नलागाइ आएकाहरुलाई मास्क दिइन्। निरीक्षणका क्रममा बिना काठमाडौं प्रवेश गर्न खोज्ने गाडीहरुलाई फर्काइएको थियो। नागढुंगापछि खड्गी धादिङको खत्रीपौवासम्म पुगेकी थिइन्।

नागढुंगाबाट सवारी साधनमा दैनिक २५ सय मानिस भित्रिने गरेका छन्। प्रहरीले काठमाडौं प्रवेश गर्ने गाडीको पास र नम्बर मात्रै टिप्ने गरेको छ। यद्यपि, यसरी भित्रिने गाडीहरुका मान्छे कहाँ जान्छन्? कहिले फर्किन्छन्? भन्ने बारेमा कुनै पनि जानकारी रेकर्ड गरिँदैन।

'यताबाट प्रवेश गर्नेहरुको विवरण पनि संकलन गर्नुपर्छ। उनीहरु कहाबाट आए, कहाँ गए यसको बारेमा प्रशासनलाई जानकारी भए सजिलो हुन्छ', उनले भनिन्।

डिएसपी घनश्याम श्रेष्ठले बिना पास र अनावश्यक रुपमा आएका गाडीहरुलाई यही नाका हुँदै फर्काइएको जानकारी दिए।

'धेरैजसो मानिस अस्पताल जाने भनेर हिँडेको पाए छौं। रिपोर्ट हेरेर हामीले उनीहरुलाई पठाएका छौं। हामीले अत्यावश्यक काम बाहेक आउने गाडीहरुलाई काठमाडौं प्रवेश गर्न दिएका छैनौं। दैनिक सयवटा भन्दा बढी गाडीलाई हामीले फर्काउने गरेका छौं', डिएसपी भने।



ट्रेन्डिङ पोस्ट

Ncell