PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजका मदिरा व्यवसायीको गुनासो : बिक्री खुल्ला नभए हामी कंगाल हुन्छौँ



राधेश्याम पटेल

वीरगंजका मदिरा व्यवसायीको गुनासो : बिक्री खुल्ला नभए हामी कंगाल हुन्छौँ

वीरगंज : भारतको राजधानी दिल्लीमा सोमवार एकै दिन ३ अर्ब भारुको मदिरा बिक्री भएपछि नेपाली व्यवसायीहरू पनि मदिरा पसल सञ्चालनको लागि सरकारसमक्ष लबिङ गर्न थालेका छन्। मदिरा व्यवसायी संघले सरकारसँग निश्चित समयावधि तोकेर भएपनि मदिरा पसल खोल्न माग गरेका छन्।

मदिरा व्यवसायी संघका केन्द्रीय सदस्य एवं वीरगंज मदिरा व्यवसायी संघ पर्साका अध्यक्ष रामाधार सर्राफका अनुसार लकडाउनका कारण देशको अर्थतन्त्र धराशायी बनेको अवस्थामा मदिरा व्यवसाय सञ्चालन नगरे यसमा लगानी गरेका व्यवसायीहरू पनि कंगाल हुन बेर नलाग्ने बताएका छन्।

‘मदिरा व्यवसायी अहिले निकै तनावमा छन्। बैंकको ब्याज, कर्मचारी र मजदुरको ज्याला तथा तलबको चिन्ता, सवारीसाधनको ऋणलगायतले गर्दा हामीहरू पिरोलिएका छौँ’, उनले भने, ‘यदि सरकारले मदिरा व्यवसायीहरूको बारेमा सोचेन भने हाम्रो सबै कारोबार डुब्नेछ। र, बैंकले पनि जग्गा तथा सम्पत्ति लिलाम गर्ने निश्चित छ। यसले गर्दा कतिपय व्यवसायीहरू गलत क्रियाकलापतर्फ उन्मुख हुन सक्दैनन् भन्ने नकार्न सकिँदैन।’

उनले बारा, पर्सामा मात्रै एक दिनमा करोड भन्दा बढीको मदिरा बिक्री हुने भएकोले ४३ दिनको लकडाउनको कारण आफूहरू निकै आर्थिक संकटमा फस्दै गएको जिकिर गरे। पर्सामा होटल, रेस्टुरेन्ट मात्रै डेढ सयभन्दा बढी छन्।

सरकारले होटल सञ्चालकलाई मजदुरलाई लकडाउनको अवधिको तलब दिन भनेपछि अहिले होटल व्यवसायीहरू ६ महिनाको लागि होटल बन्द गर्ने घोषणासहित तलब भत्ता नदिने संकेत गरेका छन्। तर, मझौला र साना खाजा होटलहरूलाई कुनैपनि दायरामा नल्याइएको मदिरा व्यवसायीहरूले चर्चा गर्दै निश्चित समय भएपनि मदिराको बिक्री वितरणलाई पुनः सञ्चालन गर्नुपर्ने उनको तर्क छ।

त्यसैगरी, बाराको कलैया, सिमरा, पथलैया, निजगढलगायत ठाउँमा पनि पछिल्लो समय होटल व्यवसाय राम्ररी फस्टाएको थियो। बारा, पर्सामा ५ हजारको हाराहारीमा इजाजतप्राप्त  पसलहरू मदिरा बिक्री वितरण गर्छन् भने १० हजारभन्दा बढी इजाजत नलिएका खुद्रा पसलहरू पनि सस्तो मूल्यको मदिरा बिक्री गर्ने गरेको वीरगंज मदिरा व्यवसायी संघले जनाएको छ।

सरोकारवाला निकायबाट इजाजतबेगर सञ्चालन गरी मदिरा बिक्री गर्ने पसललाई कारबाही गर्नुपर्ने मदिरा व्यवसायीको माग छ। लकडाउनमा भित्री गल्ली र घरभित्र सञ्चालनमा भएका पसलले राम्ररी कारोबार गरेको तर मुख्य सडकमा हुनेको कारोबार लगभग चौपट भएको उनले बताए। लकडाउनको अवस्थामा लुकीछिपी भण्डारण गरिएको सस्तो मूल्यको मदिरा बढी बिक्री भइरहेको पनि उनको विश्लेषण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell