PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोना संक्रमित बढ्दा ट्रेसिङ र टेस्टिङमा चुनौती, प्रयोगशाला विस्तार हुँदा पीसीआर परीक्षण घट्यो



प्रकाश भण्डारी

कोरोना संक्रमित बढ्दा ट्रेसिङ र टेस्टिङमा चुनौती, प्रयोगशाला विस्तार हुँदा पीसीआर परीक्षण घट्यो

काठमाडौं : माघ १० गते नेपालमा पहिलो कोभिड १९ संक्रमित भेटिए। अर्को केस भेटिन दुई महिना लाग्यो। चैत १० गते सरकारले दोस्रो कोरोना संक्रमित भेटिएको सार्वजनिक गर्‍यो, त्यसैको भोलिपल्ट देखि लकडाउन गर्ने निर्णय गर्‍यो। त्यसयता चैत महिनाभर केही संख्यामा कोरोना संक्रमित देखिए। तर बैशाख लागे यता संक्रमितको ग्राफ बढदो छ।

वैशाख ५ गते १२ जना संक्रमित भेटिए उदयपुरको भुल्केमा। भुल्के नेपालको कोरोना संक्रमितको केन्द्र बन्यो। हालसम्म त्यहाँ २८ जनामा संक्रमण देखिएको छ। भुल्के हुँदै प्रदेश १ को झापा र भोजपुर पुग्यो। त्यसपछि केही दिन संक्रमित भेटिने क्रम रोकिए। संक्रमण देखिएकाहरु पनि निको भएर अस्पतालबाट डिस्चार्ज भए।

उदयपुर रेड जोनमा परिरहँदा प्रदेश ५ मा संक्रमण देखिएको थिएन। तर वैशाख १९ गते एकाएक प्रदेश ५ मा दुईजना संक्रमित भेटिए। संक्रमित मध्ये एक शिक्षकको कन्टयाक्ट ट्रेसिङ गर्दा भुल्केपछि कोरोनाको केन्द्र बन्यो  प्रदेश ५ को नेपालगञ्ज। त्यहाँ एउटै टोलमा २३ जनामा संक्रमण देखियो।

प्रयोगशाला बढ्यो परीक्षण घट्यो

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै कोरोना परीक्षण गर्ने प्रयोगशाला विस्तार भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सोमबार मात्रै पीसीआरबाट परीक्षण हुने गरी प्रयोशाला स्थापना गरिएको छ। यससँगै देशभर पीसीआर प्रयोगाशालको संख्या १८ पुग्यो।

अहिले सातै प्रदेश लगायत विभिन्न शहरमा प्रयोगशाला छन्। चैत ११ गते लकडाउन हुँदा काठमाडौंको टेकुस्थित प्रयोगशालाबाट मात्रै कोरोनाको पीसीआरबाट परीक्षण हुन्थ्यो। लकडाउनसँगै संक्रमित बढे सँगै बढे  परीक्षण केन्द्रहरु पनि।

तर प्रयोगशालाको संख्या बढिरहेको अवस्थामा कोरोना संक्रमित पहिचान गर्न रियल टाइम चेइन पोलिमराइजेशन टेष्ट(आर टी पीसीआर) भने घटिरहेको छ।  

लकडाउनको समय संक्रमितको पहिचान गर्दै उनीहरुको कन्टयाक्ट ट्रेसिङ गरेर 'मास लेभल' मा परीक्षण हुनुपर्नेमा परीक्षणको संख्या घटदै गएको हो।

मंगलबार सबैभन्दा कम परीक्षण

बितेको हप्ता दिनमा दैनिक ७ सय २२ सम्म पुगेको पीसीआर परीक्षण पछिल्ला दिनमा ह्वातै घटेको छ। शनिबार ३ सय २५ को पीसीआर गरिँदा आइतबार त्यो संख्या घटेर २ सय २५ मा झर्यो। त्यसअघि वैशाख २० गते ५ सय २० को पीसीआर गरिएको थियो। १९ गते ५ सय २४ को गरिँदा १८ गते परीक्षणको संख्या ४ सय ८७ थियो। सबैभन्दा धेरै परीक्षण वैशाख १७ गते गरिएको थियो। सो दिन ७ सय २२ को पीसीआरबाट परीक्षण गरिएको थियो। २३ गते मंगलबार अहिले सम्मकै सबैभन्दा कम २ सय १० को मात्रै आर टी पीसीआर परीक्षण भएको छ।

नेपालमा कोरोनाको संक्रमण देखिएको साढे दुई महिनासम्म जम्मा १३ हजार ८ सय ५० को मात्रै पीसीआरबाट कोरोना परीक्षण गरिएको छ। यसमध्य ६सय ८७ नमुनाको चैत ११ अघी नै परीक्षण गरिएको थियो।

लकडाउनको ४३ दिनसम्म पीसीआरबाट जम्मा १३ हजार १ सय ६३ नमुना परीक्षण गरिएको छ।

किन घट्यो पीसीआर परीक्षण ?

संघीय सरकारले पछिल्लो पटक कोरोनाको हटस्पट बनेको नेपालगञ्जमा २ सय ५० पिसीआरका लागि आवश्यक पर्ने किट पठाएको छ। नेपालगञ्ज उप-महानगरले माग गरेको थियो हजार भन्दा धेरै किट। तर मन्त्रालयले अहिले मौज्दात किट थोरै भएकाले भन्दै २ सय ५० किट मात्रै पठाएको उपमहानगरकी उपप्रमुख उमा थापा मगरले बताइन। उनका अनुसार भेरी अञ्चल अस्पतालमा पनि मंगलबार सम्म ७० वटा मात्रै किट थिए।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशषज्ञ डा. रोशन पोख्रेल अहिले थोरै मात्रै पीसीआरका लागि चाहिने किट मौज्दात भएकाले नेपालगञ्जमा थोरै पठाइएको बताउँछन्। यस्तो अवस्थामा नेपालगञ्जमा नै आशंकित सबैको परीक्षण गर्न सकिँदैन। अन्य स्थानमा धेरै संख्‍यामा संक्रमणको आशंकामा पीसीआरबाट परीक्षण गर्नुपरे किटको अभाव हुनेछ।

'हामीसँग स्टक पीसीआर किट धेरै नभएकाले थोरै पठाएका हौं तर स्वास्थ्य सामाग्री ल्याउने प्रक्रिया अघि बढेको छ चाडै सबै ठाँउमा पुग्ने गरि आउछ होला,'उनले भने।

संक्रमित बढिरहेको र उनीहरुको ट्रेसिङ गर्दै परीक्षण गर्नुपर्ने बेलामा परीक्षण घटिरहेको छ। तर, पोख्रेल भने उनी किटकै अभावले मात्रै कम परीक्षण नभएको दाबी गर्छन्।

क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने भएकाले संख्या घटबढ भइरहेको पोख्रेलले दाबी गरे।

विदेशबाट आउनुपर्ने स्वास्थ्य सामाग्री नआइरहेकाले किटको अभाव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले आपूर्ति नभइरहेको र पहिलाको अब थोरै मात्र बाँकी रहेकाले किटको अभाव भएको मन्त्रालयको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell