
बेलायतमा कोरोना भाइरस लकडाउन रणनीतिको नमुना तयार पार्ने इपिडेमियोलोजिस्ट निल फर्गुसनले सरकारी सल्लाहकारको पदबाट राजीनामा दिएका छन्। उनले लकडाउनको नीति उल्लंघन गरेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका हुन्। फर्गुसनले लकडाउनका बेला आफ्नै घरमा प्रेमिकासँग भेट गरेका थिए।
इम्पेरियल कलेज लण्डनस्थित उनको समूहले सामाजिक दुरीको रणनीति कार्यान्वयन गर्न सहयोग गरेको थियो। त्यसले बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)लाई निकै मद्यत पुगेको थियो।
उनले मंगलवार एक विज्ञप्तिमार्फत आफूले गल्ती गरेको स्वीकार गर्दै सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमर्जेन्सीज (सेज)को पदबाट राजीनामा दिएको जानकारी दिएका थिए।
द डेली टेलिग्राफका अनुसार लकडाउनका बीच प्रमिका एन्टोनिया स्टाट्स उनलाई भेट्न मार्च ३० र अप्रिल ८ मा गरी दुई पटक फर्गुसनको घर पुगेकी थिइन्। उनका साथीले द डेली टेलिग्राफलाई बताएअनुसार घरपरिवारभित्रकाले एकअर्कालाई भेट्न पाउने भएकाले सो कार्य अनुचित नहुने स्टाट्सको बुझाइ थियो।
उनीहरुको भेट सरकारको ‘घरमै बसौँ, सुरक्षित बनौँ’ भन्ने नीतिविपरीत भएको बताइएको छ। सो नीतिमा नागरिकहरुलाई घरभित्रै बस्न र अन्य परिवारसँग घुलमिल नहुन निर्देश गरिएको थियो।
‘मैले गल्ती गरेको स्वीकार गर्छु, मेरो कार्य गलत थियो। त्यसले मैले सेजसँगको संलग्नताबाट पछि हट्ने निर्णय लिएको छु’, फर्गुसनले भने।
विज्ञहरुले नागरिकहरुलाई अन्य परिवारका सदस्यसँग भेटघाट नगर्न बारम्बार सुझाउँदै आएको छन्।
इङ्ल्यान्डकी सहायक प्रमुख मेडिकल अधिकारी जेन्नी ह्यारिज भन्छिन्, ‘फरक परिवारमा बसेका जोडीहरु हालकै परिवारमा बस्नुपर्छ।’