काठमाडौं : दश वर्ष पुरानो झुल अप्रत्यासित रुपमा लकडाउनमा प्रयोगमा आयो। झुल काटियो र बन्यो - सजाउने सामग्री। तयारी थियो, बिहेको। लकडाउनले सबै बन्द भएपछि आवश्यक सामग्री पाउने कहाँ? बिहेमा खाद्यान्नले मात्र नहुने! विधि फुकाउने सामान पाउनै कठिन। सजिसजाउका सामग्री त कहाँबाट पो किन्नु? त्यसैले झुलमात्र होइन, सिरकको खोल पनि सजावटमा प्रयोग भयो।
टोल सिंगै सुनसान, बेहुलीको घरको छतमा बन्यो मण्डप। जन्ती १० जनामात्र। गोकर्णदेखि सिफलसम्म जन्ती देख्दा वरपरकाले अनौठो मान्दै हेरिरहेका थिए। लकडाउनमा बिहे आफैँमा कठिन। बिहेका दृष्य हेर्दा निक्कै रोचक लाग्थ्यो।
गोकर्णका रवि श्रेष्ठ र सिफलकी सोनी श्रेष्ठबीचको यो विवाहमा आउनेहरुको सबैको मुखमा मास्कले ढाकेको थियो। जन्ती आइपुग्नासाथ स्वागत गरियो - स्यानिटाइजरले। जन्ती पर्सिनेदेखि टीका लगाउनेसम्मका काम मास्क लगाएरै सकियो।
त्यसो त जन्तीमात्र १० जना होइन, सोनीका नजिकका आफन्तहरु पनि बिहेमा आउन पाएनन्। पाटनमा बस्ने ठूलो बुबाको परिवारसमेत बिहेमा आउन सकेनन्।
नजिकका साथीहरु पनि आउन सकेनन्। बेहुली बिहेको मण्डपमा फोन उठाउन व्यस्त रहिरहिन्। जो जो आउन सकेनन् उनीहरु मोबाइल नेटवर्कबाटै बिहेमा सहभागिता जनाइरहेका थिए - अभौतिक रुपमा।
'बिहे त धुमधामले गर्न मन थियो तर लकडाउनले केही गर्न पाइएन,' सोनीका आमा सुनाउँदै थिइन्, 'जुरेको लगन छाड्न पनि भएन। मान्छे आउन सक्ने पनि भएनन्।'
बिहेका लागि साइत जुर्नु ठूलो कुरो थिएन। त्यसबाहेक अरुतिरको पनि अनुमति चाहिन्थ्यो जस्तो कि वडा कार्यालय। उनीहरुले बिहे गर्न अनुमति वडाबाट लिएका रहेछन्। वडाको अनुमतिपत्र राखेर बिहे हुनु आफैँमा अनौठो घटना बन्यो।
बेहुला रविलाई जन्ती आउने पनि सजिलो थिएन। बाटोबाटो चेक हुने भएकाले सबैलाई ल्याउन कठिन। १० जनालाई ल्याउन उनले पनि आफ्नो वडा कार्यालयबाट सिफारिसपत्र ल्याएका थिए। गाडीमा शुभ विवाहको तुल टाँगेर आउँदा पनि प्रहरीले भने रोकेरै सोधपुछ गरे। उनीहरुले सिफारिस पत्र देखाए अनि बेहुलीको घरसम्म पुगे।
बिहे परम्परागत हिसाबले पूरै विधिविधानसहित पूरा भयो।
घरको छतमा बिबाह सकियो। फोटो खिच्न क्यामरा पर्सन पाउने कुरै भएन। बेहुला रविका भाइ आफैँ दाजुको बिहेको फोटोग्राफर बनिरहेका थिए। तर, निर्धक्क फोटो खिच्न ठाउँ पाउनु कहाँ? उनीहरुले जति फोटो खिचे ती अधिकांश कोठाभित्रै।