
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट बाक्लिएको छ।
शनिवारको सचिवालय बैठकयता दुई अध्यक्षबीच दिनहुँ छलफल गरिरहेका छन्। आज बिहान पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटघाट भएको हो। आज बिहान ९ बजेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। सोमवार र मंगलवार पनि ओली प्रचण्डबीच भेटघाट भएको थियो।
बिहीवारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न दिउँसो तीन बजे सचिवालय बैठक डाँकिएको छ। आजको भेटमा सचिवालय र स्थायी कमिटी बैठकबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
पछिल्लोपटक शीर्ष नेताबीच भेटघाटले तीव्रता पाएको छ। मंगलवार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग वार्ता गरेका थिए। अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि ओलीले भेटघाट गरेका छन्।
प्रचण्ड बालुवाटार पुग्नुअघि उपाध्यक्ष वामदेव गौतमसँग भेटघाट भएको उनको सचिवालयले जानकारी दिएको छ। गौतम बिहान ८:३० मा प्रचण्ड निवास पुगेका थिए। शनिवारको सचिवालय बैठकमा गौतमले गुट फेरेको प्रचण्ड-नेपाल समूहका नेताहरु बताउँछन्।
तर, भेटमा गौतमले आफूले गुट नफेरेको बताएको स्रोतले जानकारी दियो। तर उनको सचिवालयले भने स्थायी कमिटीमा पेश हुने प्रतिवेदनबारे प्रचण्डलाई सुझाव दिन खुमलटार पुगेको दाबी गरेको छ।