काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको हट स्पटको रुपमा देखिएको प्रदेश ५ मा हालसम्म एक हजार तीन ६६ जनाको कोरोना भाइरसको पीसीआर पद्धतीबाट नमुना परीक्षण गरिएको छ।
प्रदेशमा हाल २४ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये १२ जना महिला र १२ जना पुरुष रहेका छन्। प्रदेशमा तीन स्थानमा कोरोना भाइरसको परीक्षण हुँदै आएको छ।
मंगलवारसम्म प्रदेश ५ बाट ५ सय ४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। जसमध्ये एक जनामा कोरोना पोजेटिभ आएको छ भने ४ सय ९७ जनाको नेगेटिभ आएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यस्तै जनस्वास्थ्य प्रयोगशालामा पठाइएका मध्ये ६९ जनाको नतिजा आउन बाँकी छ।
त्यस्तै, प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ३ सय ३७ जनाको परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, भेरी अस्पतालमा परीक्षण गरिएका ४ सय ३२ मध्ये २३ जनामा पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ। यहाँ पाँच जनाको नतिजा पर्खिरहेका छ। त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान एकेडमीमा ४८ जनाको परीक्षण गरिएकोमा १८ जनाको नतिजा नेगेटिभ आएको छ भने ३० जनाको नतिजा आइसकेको छैन।
प्रदेश ५ मा कस्तो छ स्वास्थ्य सेवा?
प्रदेश ५ मा कोरोना भाइरस विरुद्धका लागि भन्दै ५ सय ९७ वटा क्वारेन्टाइन केन्द्र सञ्चालनमा छन्। यी केन्द्रमा रहेको १४ हजार ६२ बेड क्षमतामध्ये हाल आठ हजार एक सय २७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए।
प्रदेश ५ मा कोरोना भाइरसैकै लागि भनी पाँच सय ६५ वटा आइसोलेसन बेड तयार रहेको उनले जानकारी दिए। यहाँ रहेका ४८ वटा जनरल अस्पतालमा तीन सय ६५ बेडलाई आइसोलेसनको सुविधासहित विस्तार गरिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल तयारी अवस्थामा रहेका छन्। यी अस्पतालमा दुई सय ३० आइसोलेसन बेड तयारी अवस्थामा छन्।
हाल, प्रदेशमा कोरोना संक्रमित २४ जना सहित ४० जना आइसोलेसनमा राखिएका छन्। आइसोलेसनमा राखिएमा मध्ये ८ जना जनरल अस्पतालमा छन्।
हालसम्म प्रदेश ५ मा रहेका अस्पतालमा तीन सय ७६ जना शंकास्पद विरामी दर्ता भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये सबैभन्दा बढी कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका छन्। यहाँ ८९ जना शंकास्पद विरामी दर्ता भएका छन्। त्यस्तै, भेरी अस्पतालमा ४६ र बुटवलस्थित प्रादेशिक अस्पताल र प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल धागो कारखानामा ४८ जना शंकास्पद विरामी दर्ता भएको मंगलवारसम्मको तथ्यांकमा उल्लेख छ। प्रदेशका १९ अस्पतालमा कोरोना सम्बन्धी शंकास्पद विरामीहरु दर्ता भएका छन्। सबैभन्दा कम नवलरासी जिल्लाको पृथ्वीचन्द्र अस्पताल परासीमा एक जनामात्र संकास्पद विरामी दर्ता भएका छन्। त्यस्तै, गुल्मीको तम्घास अस्पतालमा दुई जना शंकास्पद विरामी दर्ता भएका छन्।
कुन जिल्लामा कति परीक्षण?
हालसम्म प्रदेशमा बाँके जिल्ला र रुपन्देही जिल्लामा सबैभन्दा बढी परीक्षण भएका छन्। बाँके जिल्लामा ३ सय ५८ जनाको पीसीआर पद्धतिबाट स्वाब परीक्षण गरिएको छ। जसमध्ये २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
त्यस्तै रुपन्देही जिल्लामा तीन सय ५२ जनाको श्वाब संकलन भएकोमा एक जनाको पोजेटिभ तीन सय ३६ जनाको नेगेटिभ र १५ जनाको नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।
प्रदेशका दुई जिल्लामा भने हालसम्म पीसीआर पद्धतीबाट परीक्षण भएको छैन। अर्घाखाँची र रुकुम पूर्वबाट कसैको पनि स्वाब परीक्षण भएको छैन।
कुन अस्पतालका आइसोलेसनमा कति छन् विरामी?
हाल प्रदेश ५ मा ४० जना आइसोलेसनमा छन्। जसमध्ये सबै भन्दा बढी बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा २४ जना छन्। त्यस्तै, बाँकेकै भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज शिक्षण अस्पतालमा एक जना आइसोलेसनमा रहेका छन्।
त्यस्तै, बर्दियाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा ६ जना आइसोलेसनमा छन्।
बर्दिया अस्पतालमा दुई जना आइसोलेसनमा रहेका र कपिलवस्तु अस्पतालमा एकजना आइसोलेसनमा छन्। त्यस्तै रुपन्देहीको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल अन्तर्गतको धागो कारखानस्थित कोरोना अस्पतालमा एक/एक जना आइसोलेसनमा उपचाररत छन्। त्यस्तै रोल्पा अस्पताल रेउघामा दुई जना आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
पाँच हजार आरडीटी परीक्षण दुई पोजेटिभ
यसैबीच हालसम्म प्रदेशका १२ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट शंकास्पदको एन्टीबडी परीक्षण गरिएको छ।
जिल्लामा कुल पाँच हजार तीन सय ३० जनाको आरडीटीबाट एन्टीबडी परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये एक जना अर्घाखाँची र एक जना नवलपरासीमा रहेको तथ्यांकमा उल्लेख छ।