
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक केहीबेर अघि सुरु भएको हो।
शनिवार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटी बैठक डाकेको थियो। सो बैठकको तयारी र एजेण्डा तय गर्न आजको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठक पनि शनिवार नै तय भएको थियो। शनिवारको बैठकले उत्कर्षमा पुगेको आन्तरिक विवाद केही हदसम्म साम्य बनाएको थियो। तर, विवाद कायमै रहेको नेताहरु बताउँछन्।
विवाद जारी रहँदा भोलि बस्ने भनिएको सचिवालय बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन समेत तयार नभएको नेताहरु बताउँछन्। स्थायी कमिटी बैठकको रणनीति तय गर्न नेताहरुको गुटगत छलफल भइरहेको छ।
सचिवालय बैठकअघि बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो। शनिवारको सचिवालय बैठकपछि स्थायी कमिटीका विषयमा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगपनि छलफल गरेका थिए।