
काठमाडौं : नेपालमा बुधवारसम्म ६७ हजार ६६ जनामा कोरोना भाइरसको परीक्षण भएको छ। जसमध्ये १४ हजार ९६ जनामा पिसिआर र ५२ हजार ९ सय ७० जनामा आरडिटी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयको प्रेस ब्रिफिङमा उनले पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको परीक्षण गरिएको बताए। त्यस्तै, १९ हजार ७ सय ३४ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा संक्रमित र विरामीको संख्या १ सय ३६ जना छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पछिल्लो परीक्षणमा पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए। एकै दिनमा १७ जना थपिएको यो पहिलो पटक हो। यसअघि नेपालगञ्जमा एकै दिन १५ जनालाई कोरोनाको संक्रमण देखिएको थियो।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या ९९ पुगेको छ, जसमा ७१ जना पुरुष र २८ जना महिला छन्।
यसैगरी, रेड जोनमा ३ सय ३३ जना छन्। उनीहरु सम्भावित संक्रमित भएकाले ट्रेसिङ गरिरहेको देवकोटाले बताए।
कोशी अस्पतालमा उपचाररत ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उनले बताए। उनीहरु १९ औँ दिनमा घर फर्किएका हुन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २२ पुगेको छ।
देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा एक र वीरगंजका दुई जनामा पुनः संक्रमण देखिएको छ। उनीहरु यसअघिको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए। उनीहरुलाई अस्पताल ल्याएर पुनः उपचार शुरु गरिएको उनले बताए।
प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, वाग्मती प्रदेशमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४, कर्णालीमा शून्य र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित छन्। संक्रमितको देशभर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको देवकोटाको भनाइ छ।