काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को विमान २८१ विदेशी नागरिक बोकेर अस्ट्रेलिया उडेको छ। लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अस्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
अस्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो। नेपालस्थित अस्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अस्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ। त्रिभुवन विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ। निगमको वाइड बडी जहाज बिहीवार साँझ सिड्नीमा अवतरण गर्नेछ।
यो निगमको अस्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो। यसअघि चैत १९ गते अस्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो। निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ। साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीवार काठमाडौं फर्कने तालिका छ। निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ।
हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ। यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो।