PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बहराइनमा हालसम्म २४५ नेपालीमा देखियो कोरोना भाइरसको संक्रमण



रासस

बहराइनमा हालसम्म २४५ नेपालीमा देखियो कोरोना भाइरसको संक्रमण
Photo: The Times of Israel

काठमाडौं : नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ थियो।

दूतावासका अनुसार मंगलवारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ७६२ पुगेको छ। बहराइनमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। बहराइनले हालसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण गरेको छ।

ठूलो संख्यामा नेपालीमा कोरोना संक्रमण देखिएपछि दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ। कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ। बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दूतावासले अनलाइन फारम भर्ने व्यवस्था गरेको छ। दूतावासले फारममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ।

बहराइनले अवैधरुपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ। संक्रमण नियन्त्रण नहुँदासम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको भन्दै दूतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न पनि नेपालीलाई सचेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell